• गणेश पुमा चिन्तन

पुमा जातिमा पाछाको अर्थ र महत्व ठूलो छ । पाछाको सामान्य अर्थ खोज्ने हो भने ‘पा’ को अर्थ बाबु र ‘छा’ को अर्थ छोरा भन्ने लाग्छ । पा छा अर्थात बाबुको छोरा । तर पुमा जातिमा पाछाको अर्थ बृहत छ । यसअर्थमा पाछा शब्दले  किरातीहरुको पूर्वजको सन्तान समूहलाई खुलाउदछ ।

लोककथा तथा बुढापाकाको भनाई अनुसार पाछा छुट्याउनुुको मुख्य उद्देश्य हाडनाताबाट छुटिनु थियो । पुमा वस्ती विस्तार भए पछि उनीहरू वीच विहेवारी गर्न अप्ठ्यारो महसुस हुन थाल्यो । विहेवारीको निम्ति हाडनाताको साइनो लाग्न थाल्यो । त्यस कठीनाईलाई समाधान गर्न तत्कालिन पूर्खाहरूले बोबी र पाछा विभाजन गरेका थिए । पुमा पुस्तालाई जाति र डबलुङ, पालुन पुस्तालाई बोबीमा विभाजन गरे भने उनीहरूको सन्तानलाई पाछाको उपनाम दिए । जस्तो, पुमाहोङका छोराहरू डबलुङ र पालुन दुईजना छोराहरू थिए । ती दुईजना दुईवटा डबलुङ र पालुनको बोबीमा छुट्टिए । डबलुङ र पालुन बोबीका सन्तान फेरि पाछामा विभाजित भए । जसका कारण तिनका सन्तान कुटुम्बेली भए । हाडनाताको साइनो टुट्यो । र ती भिन्न पाछाहरूवीच कुटुम्वेलीको साइनो आरम्भ भयो ।

पुमामा दुई बोबीहरूका गरी जम्मा चौंध पाछाहरू छन् ।

डबलुङ बोबी अन्तर्गत-

१. गाराजा
२. थुम्राहाङ
३. हाङथाङखा
४. योङदोहाङ
५. लिम्माछित
६. दुमाङलुङ र
७. हादिरा गरी सात पाछा छन् ।

त्यसैगरी पालुन बोबी अन्तर्गत-

१. मिथाहाङ
२. तोङमालुन
३. मेत्लङथङ
४. वावीहाङ र
५. खाहोङ
गरी पाँच पाछा छन् । बुढापाकाको भनाई र लोककथा अनुसार पाछा विभाजन गर्ने समयमा रीरुहाङ र हेन्योङछा परदेश गएका थिए । उनीहरू परदेशबाट फर्कदा पाछा विभाजन भइसकेको थियो । उनीहरूले पनि हाम्रो पाछा चाहियो भने पछि उनीहरूको पाछा रीरुहाङ र हेन्योङछा राखियो । यी दुई पाछा समेत पुमा जातिमा जम्मा १४ पाछाहरू विद्यमान छन् ।

पाछा विभाजनसँगै वंशावलीको नामावली प्रस्तुत गर्दा तथ्य बुझ्न सजिलो हुनेछ भन्ने मैले महसुस गरेको छु । त्यसैले संक्षिप्त किराती वंशावलीचित्र यहाँ प्रस्तुत छ । थप जानकारी यस लेखको बाँकी अंशबाट लिनुहोस् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ