• गणेश पुमा चिन्तन
पुमा जातिको उत्पत्ति र विकास सम्बन्धी स्पष्ट लिपीवद्ध इतिहास पाउन सकिएको छैन । तर यस सम्बन्धी आख्यान र लोककथाहरू भने प्रशस्त मात्रामा चलनचल्तीमा रहेका छन् । तिनै लोककथा र केही छिटफुट अनुसन्धानात्मक ऐतिहासिक विश्लेषणहरूबाट प्राप्त तथ्यहरू यस लेखमा प्रस्तुत गरिएको छ ।
किरात चाङफेवाहाङ वंशका यङलुहोङ (यलम्बर) इशापूर्व तेश्रो सताब्दी तिर नेपाल उपत्यकाका राजा भए । उनले महिषपालवंशी राजाहरूलाई हराई त्यहाँ आफ्नो राज्यकेन्द्र स्थापना गरेका थिए । उनी र उनका सन्ततीहरूले उपत्यकामा बत्तीसौं पुस्तासम्म शासन गरे । यो तथ्य इतिहासहरूमा पढ्न पाउँछौं । त्यतिखेर तिनको शासन सुव्यवस्थालाई देखेर लिच्छबीवंशी आर्य जातिहरू ईष्याले जल्दथे । उनीहरूले कैयौं पटक किराती राज्यमा आक्रमण गरे । तर हरेक पटक हार व्यहोर्थे । कारण किरातीहरू नाग, वृक्ष, हावा, पानी, आगो, चट्याङ, हेन्खामा र निनाम्माको पूजा अर्चना गर्दथे । साथै किरातीहरूले आफ्ना तीन चुलालाई सुम्निमा, पारुहोङ र दृष्टिकर्ता निरेवाभुमोङको रुपमा पूजा गर्दथे । र तिनै प्रकृति र सुप्तुलुङबाट किरातीहरूले अथाह शक्ति प्राप्त गर्दथे । पछि किराती चेलीलाई टुनामुना लगाई उनीहरूले फसाए । यो उनीहरूको कुटनीति (जालझेल) थियो । किरातीहरूको पतनको इतिहास यहीबाट शुरु हुन्छ ।
किरातीहरूको राज्यमा कैयौं पटक विशाल शक्ति लगाउदा पनि लिच्छबीहरूले हार व्यहोनु परेपछि किरातीहरूको शक्तिकेन्द्र सम्बन्धी जानकारी लिन उनीहरूले किराती चेलीसँग नाटकीय माया रची विबाह गरेका थिए । देखावटी रुपमा उनले श्रीमानबाट धेरै माया पाएकी थिइन् । त्यसै त किरातीहरू कोमल हृदयका हुन्छन् । श्रीमानको अभुतपूर्व मायाको जालमा फसेकी किराती चेलीले श्रीमान समक्ष आफ्ना माइती (किराती) हरूको शक्तिकेन्द्रका बारेमा एक पछि अर्को गर्दै जानकारी गर्दै गईन् । उनले आफ्नो श्रीमानलाई सर्वस्व ठानेकी थिइन् । यद्यपि उनलाई आफ्ना माइतीको माया पनि बचेकै थियो । त्यसैले उनले आफ्ना बाउमाइतीको शक्तिश्रोतको बारे सुनाउनु अगाडि उनले श्रीमानलाई तीनवटा बाचा गर्न लगाएकी थिइन् । ती तीनवटा बाचाहरू १. बाउलाई नमार्नु २. दाजुलाई नमानु र ३. भाइलाई नमार्नु थिए ।
लिच्छबीवंशी आर्य जातिको कुटनीति यसरी सफल भयो । उनीहरूले किरातीहरूको शक्तिकेन्द्र र तिनको कमीकमजोरीको बारेमा किरातीचेलीबाटै थाहा पाए । त्यसपछि लिच्छवीहरूले सर्वप्रथम किराती शक्तिश्रोतहरूलाई वित्तल (अशुद्ध) पारे । तिनको सांस्कृतिक धरोहरहरू नास गर्न थाले । कूलपितृ र भूमिदेवहरूमा वित्तल पार्न थाले । शुरुमा किरातीहरू जाड रक्सी खादैनथे । काटमार गर्दैनथे । किरातीहरूको सुप्तुलुङमा वित्तल पार्न लिच्छवीहरूले जाडरक्सी खन्याइदिए । सुँगुर र कुखुराको बली चढाए । यसरी किराती शक्तिकेन्द्रमा वित्तल पारे । र अन्तमा तत्कालीन किराती राजा खिगुहोङलाई पराजित गरेरै छाडे । राजा खिगुहोङलाई उपत्यकाको अन्तिम किराती राजा मानिन्छ । उनी यङलुहोङ (यलम्बर) का बत्तीसौं सन्तान थिए ।
उपत्यकामा किराती राजा खिगुहाङले पराजय भोगेपछि आर्यहरूको किरातीहरू माथि दबाब बढ्दै गयो । क्रमैसँग किरातीहरूको मौलिक भाषा, संस्कृति र परम्पराहरू माथि लिच्छवी शासकहरूले प्रतिवन्ध लगाउदै गए । लिच्छवीवंशी आर्यहरू किरातीहरूको समूल नास चाहन्थे । जसको लागि किराती सांस्कृतिक धरोहरमा प्रतिवन्ध लगाएका थिए । तिनले किराती वेद मुन्दुम र किराती शिलालेखहरू नष्ट गर्दै लगे । उनीहरूले किराती चेलीबाट किराती धर्म र संस्कार महत्वपूर्ण शक्तिकेन्द्र हो भन्ने थाहा पाएका थिए । यसरी तिनको किरातीहरू माथिको दबाब बढ्दै गए पछि किराती राजा खिगुहोङ उपत्यकाबाट पूर्वतिर लागे । केही किरातीहरू उपत्यकामा नै रहे । हाल उपत्यकाका ज्यापुहरू किराती राजाका सन्तति हुन् भन्ने भनाई छ (मिथाहोङ पालुन पुमा राई  वंशावली–२०६२, पृ–१,२)
खिगुहोङ काठमाडौंबाट पूर्व लागि बनेपालाई आफ्नो राज्यकेन्द्र बनाए । उनको छोरो योक्नेहोङ त्यहाँका दोश्रो राजा भए । योक्नेहोङका दुई छोराहरू भए । उनीहरू लेलिमहोङ र खम्सोङहोङ थिए । योक्नेहोङको मृत्युपछि उनका छोराहरूले सन् ६०० राज्य विभाजन गरे । राज्य विभाजन अनुसार लेलिमहोङ लिम्वुवान र खम्सोङहोङ खम्बुवानको राजा भए ।
खम्सोङहोङका छोरा जुमहोङ थिए । जुमहोङका छोरा खम्बुहोङ भए । खम्बुहोङले आफ्नो राज्यकेन्द्र बेलकातरी (वालिखा) मा सारे । इतिहास अनुसार किरातीहरू उपत्यकाबाट बनेपा हुँदै बेलकातरीसम्म पुग्दा जंगली रुपमा परिणत भइसकेका थिए । आफ्नो मुन्दुम, भाषा संस्कृति र परम्पराको सुरक्षाका निम्ति खिगुहोङले उपत्यका छोडे पनि स्थायी बसोबास र पूर्व शिलालेखहरूको नास र प्रतिवन्धका कारण तिनको मौलिकता क्रमशः समाप्त हुँदै गयो । यसरी समयक्रम सँगै किरातीहरूले आफ्नो मौलिकताका धेरै हदसम्म गुमाउन पुगे । उनीहरू शतप्रतिशत वनमा निर्भर हुन पुगे । वनकै कन्दमुल, तरुल र खोलाको माछा तिनको मुख्य आहारा बनेको थियो भन्ने आख्यानहरू पाइन्छन् ।
खम्बुहोङले वेलकातरीमा आफ्नो राज्यकेन्द्र बनाए । उनले नाहिमा (नागाकी चेली) सँग विबाह गरे । उनीहरूका दश छोरा र एक छोरी गरी जम्मा एघार सन्तान भए । तिनको नामावली यसप्रकार छ—
१. जेठा– मापेहोङ, २. माइला– खिन्चीहोङ, ३. साइला– हिनाहोङ, ४. काइला– वानाहोङ, ५. अन्तरे– खप्पाहोङ, ६. जन्तरे– कुर्सेहोङ, ७. लखन्तरे– चालिमहोङ, ८. मन्तरे– सेकुहोङ, ९. गनन्तरे– रामलिहोङ, १०. कान्छा– सेक्रोहोङ, ११. छोरी– सायामा ।
खम्बुहोङले आफ्नी छोरी सायामाको उनकै मन्त्री न्योहोङसँग विबाह गरिदिएका थिए ।
समयक्रम बढ्दै गयो । किरातीहरू ताडो चढाउन खप्पिस थिए । उनीहरू धनुवाण लिएर शिकार खेल्न जान्थे । यसैक्रममा खम्बुहोङका छोराहरू मापेहोङ र सेक्रोहोङ बेलकातरीबाट शिकार खेल्दै सप्तकोशी पूर्वतिर लागे । घनघोर जंगलमा शिकार गर्ने क्रममा उनीहरूले आफ्नो शिकारलाई घेरामा पार्ने क्रममा थिए । दुईजनाले दुईतिरबाट घेर्न थाले । घेर्ने क्रममा मापेहोङको अगाडि चाल सुन्यो । नदेखीकनै शिकार हो भनी हानेको मापेहाङको बाणले भाइ सेक्रोहोङको मुटु छिचोल्यो । उनी त्यही ढले । मापेहोङ बेहद बेहद पछुताए । पीडाग्रस्त मापेहोङलाई घरमा बाबाको पनि डर भयो । र उनी अरुणको उत्तरै उत्तर लागे । उनी हालको तिब्बतमा पुुगे र त्यहाँका ग्याल्जुङमा भुटियासँग विबाह गरे । र नाम्चेमा आइ त्यसको आसपासमा उनले आफ्नो बोबी (थलो) बनाए ।
छोराहरू हराए पछि खम्बुहोङले अदुवाको कचुर काटी आफ्नो छोराहरू भएको दिशा पत्ता लगाए । कचुर जोखानामा उनीहरू बेलकातरीबाट उत्तर दिशामा भएको देखे । उनले रामलिहोङलाई छोराहरूको खोजी कार्यमा खटाए । रामलिहोङले मापेहोङलाई भेटे । मापेहोङले बाबु समक्ष उपस्थित भइ दुर्घटनाको वृत्तान्त बताए । उनले बाबुको गाली खानसम्म खाए । पछि फेरि मापेहोङ आफ्नै बोबी नाम्चेतिर लागे ।
खम्बुहोङले छोरा सेक्रोहोङको मृत्युपछि उनको ठाउँमा छोरी सायामालाई राखेर दश सन्तानलाई दश किरातको नाम दिए । हाल पनि दश किरात एक भान्सा भन्ने लोकोक्ती किरात समुदायमा पाइन्छ । सायामा र न्योहोङको सन्तानलाई आफ्नै सन्तानमा गाभे । किराती लोककथा अनुसार मापेहोङका सन्तान खालिङ, खिन्चीहोङका सन्तान सुनुवार, हिनाहोङका सन्तान वायुङ (वाहेङ) र वाम्बुले (अम्बु), खप्पाहोङका सन्तान कुलुङ, कुर्सेहोङका सन्तान तिलुङ, चालिमहोङका सन्तान चाम्लिङ, साङपाङ र पुमा, सेकुहोङका सन्तान दुमी, नाछिरिङ, लोहरुङ र याक्खा, रामलिहोङका सन्तान थुलुङ र सायामाका सन्तान यम्फु र नेवाहोङ हुन् भन्ने छ ।
समयसँगै किरात बस्ती विस्तार हुन थाल्यो । दश किरातले आ–आफ्नो बोबी (क्षेत्र) छुटाउँदै बस्न थाले । उनीहरू जहाँ, जुन ठाउँ राम्रो लाग्यो त्यही बस्न थाले । यसरी खम्बुहोङका सन्तानहरू खम्बुवान क्षेत्रभित्र आफ्नो साहोन, बोबी या क्षेत्र बनाएर बस्न थाले ।
आफ्नो बोबी, सोहोन या किपट चुन्ने क्रममा चालिमहोङका छोराहरू पनि अग्रसर भए । यस क्रममा चाम्लिङ मूलघरमा बस्ने भयो भने साङपाङले आफ्नो सोहोन छुट्यायो । दाइहरूले राम्रो क्षेत्र उनीहरूको साहोन बनाए पछि पुमाहोङ पनि आफ्नो अनुकुल ठाउँ खोज्न मूलघरबाट दक्षिणतिर परदेश झ¥यो । झर्ने क्रममा उनी दक्षिणी खोटाङको सावाखोला तरे । हालको दिप्लुङ गाविसको आसपासमा उनले आफ्नो अनुकुल वातावरण पाए । स्वच्छ हावापानी, हिमाल र समतलको एकैचोटी दृष्यावलोकन गर्न सकिने दिप्लुङ क्षेत्रले उसलाई मोहक बनायो । र दिप्लुङ क्षेत्रलाई उनले पुमा बोबी, सोहोन बनाए ।
यसरी खोटाङको दिप्लुङबाट पुमा बस्ती दिप्लुङ लगायत मौवाबोटे, देवीस्थान, चिसापानी, सुन्तले, साउनेचउर, फाक्टाङ, पौवासेरा, काहुले र बोपुङसम्म विस्तार भयो । र पछि उदयपुरको बेल्टार, बसाहा, रामपुरमा बसाइँ सराई गरे । बसाइँसराईको क्रममा पुमा जाति हाल सुनसरी, सप्तरी, मोरङ, झापा, काठमाडौं र भारतको दार्जिलिङसम्म पुगेका छन् । साथै अध्ययन, रोजगारी लगायतका शिलशिलामा संसारका कुना कुनासम्म पुरा राईहरु छरिएर रहेका छन् ।

 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ