“जब मानिसमा चेतानाको विकास हुन्छ, तब उसले आफ्नो पहिचान आफै खोज्न थाल्छ ।” भन्ने मुलमन्त्रका साथ स्थापित किरात पुमा राई तुप्खाबाङखालाले भौतिक रुपमा ठूलो प्रगति गर्न नसके पनि पुमा राई भाषा तथा मुन्धुमको लेखन, प्रकाशन तथा प्रसारणमा केहि उल्लेखनीय कार्य गरेको छ । त्यसैगरी यस संस्थाले पुमा राई समुदायमा सहयोग, सदभाव र भाईचाराको सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग गरेको छ । यो संस्था स्थापना भएदेखि हालसम्म भएका केही उल्लेखनीय कार्यहरू निम्नानुसार रहेका छन् :

१. संस्थागत विस्तार :

खोटाङ, उदयपुर, सुनसरी, धनकुटा र झापा गरी जम्मा ५ वटा जिल्ला कार्य समिति गठन भएका छन् । त्यसैगरी बेलायत, हङकङ, संयुक्त अरब ईमिरेट्स(युएई), मलेसिया र कतारमा गरी ५ वटा देशमा समेत किरात पुमा राई तुप्खाबाङखाला गठन भएको छ ।

२. अधिवेशन :

हालसम्म जम्मा ५ वटा अधिवेशन सम्पन्न गरिएका छन् । जसमध्ये उदयपुरको बेलटारमा सम्पन्न चौथो अधिवेशन उल्लेखनीय र बृहत् रह्यो । यस अधिवेशनमा विशेष भूमिका उदयपुर जिल्ला कार्यसमितिको समेत रहेको थियो ।

३. चिसापानी साकेलाथानको उत्खनन्, निर्माण तथा पुनर्निर्माण :

खोटाङ जिल्लाको चिसापानी माध्यामिक विद्यालय नजिकै अतिप्राचिनतम् अवस्थामा रहेको पुमा राईहरूको साकेन्वा(साकेला÷फागु) थान उत्खनन्मा उल्लेखनीय भूमिका श्री प्रविण पुमाको रहेको छ । उहाँले विभिन्न पत्रपत्रिकामा सो थान बारेमा लेख प्रकाशन गर्ने तथा सो थानको इतिहास, पुरातत्व, मिथकहरू सम्बन्धी ब्रोसर एवं पर्चा बनाई समुदायमा चर्चा परिचर्चा गर्ने र गराउने तथा थान निर्माणमा जनचेतना समेत बढाउने कार्य गर्नु भयो । किरात पुमा राई तुप्खाबाङ्खाला जिल्ला कार्य समिति, खोटाङ स्थापना भएपछि सो समितिका पदाधिकारी अग्रजहरू श्री शक्तिराज राई, श्री दिलिपसिं राई, स्व. श्री अम्बरबहादुर राई, श्री प्रकाश राई, श्री डिल्लीशेर राई, श्री सन्जित राई, श्री सम्झना राई, लगायतको नेतृत्वमा चिसापानी साकेलाथानको पुनःस्थापना भयो । यस कार्यको लागि विशेषतः सिंगापुर, हङकङ र बेलायतमा बसोबास गर्ने पुमा राईहरूले आर्थिक सहयोग गर्नु भएको थियो । वि.सं. २०७२ बैशाख १२ गतेको भूकम्पबाट भत्किएपछि सो साकेलाथानको पुनर्निर्माण किरात पुमा राई तुप्खाबाङ्खाला जिल्ला कार्य समिति, खोटाङले जन्तेढुंगा गा.पा. वडा नं. ५ र ६ को आर्थिक सहयोगमा सम्पन्न गरेको छ ।

 ४. बुङवाफोप पत्रिका प्रकाशन :

वि.सं. २०६४ सालदेखि पुमा राई भाषामा निजी तवरबाट प्रकाशन हुँदै आएको पुमा भाषाको एक मात्र पत्रिका बुङ्वाफोप संस्थाको अर्धवार्षिक मुखपत्रको रुपमा वि.सं. २०६६ देखि निरन्तर भई १९ औं अंकसम्म प्रकाशन भएको छ । यस पत्रिकाले पुमा राई भाषा, संस्कार, संस्कृति तथा मुन्धुमको अभिलेखीकरणमा ठूलो भूमिका खेल्दै आएको छ । यस पत्रिकाको पहिलो चार अंक विराटनगरबाट श्री श्रीकुमार राई, श्री गणेश कुमार राई, श्री पेङगुइन राई, श्री परशु(विराट) राई र श्री कल्पना राईको समूहले सबै आर्थिक तथा प्राविधिक स्रोत व्यहोरेर प्रकाशन भएको थियो । वि.सं. २०६६ सालदेखि यो पत्रिकाको ६ अंक प्रकाशनको लागि आर्थिक स्रोत संकलनमा श्री अगमशेर राई, भुपु मेजर श्री भुपजित राई लगायतको विशेष योगदान रहेको थियो । तत्पश्चात् प्रत्येक अंकको लागि निश्चित रकम पुमा राई चीर स्थायी कोषबाट उपलब्ध हुँदै आएको छ । नपुग रकम संस्थाका शुभचिन्तक गैर पुमा राई तथा जिम्मेवार पुमा राईहरूबाट साथ र सहयोग हुँदै आएको छ ।

५. शब्दकोष तथा अन्य पुस्तक प्रकाशन :

छिन्ताङ पुमा अभिलेखीकरण परियोजना(सन् २००४–८)को सहकार्यमा पुमा शब्दकोश तथा व्याकरण वि.सं. २०६७ सालमा प्रकाशन गरिएको छ । पुमा शब्दकोष तथा व्याकरण प्रकानार्थ परियोजनाको तर्फबाट विशेष गरी प्रा.डा. नोवलकिशोर राई र प्रा.डा. विष्णुसिं राईको भूमिका र सहयोग विशेष रह्यो भने संस्थाको तर्फबाट तत्कालिन अध्यक्ष श्री भुपेन्द्र राईको नेतृत्वको केन्द्रीय कार्यसमिति र बेलायतको किरात पुमा राई तुप्खाबाङ्खालाको विशेष योगदान रह्यो ।  त्यसैगरी बोबीदुम लोककथा(मिथक) संग्रह आदिवासी जनजाति उत्थान प्रतिष्ठानको आर्थिक सहयोगमा प्रकाशन गरिएको छ । अन्य लेख रचनाहरू विभिन्न पुस्तक तथा पत्रिकाहरूमा समेत प्रकाशन गरिएका छन् । त्यसैगरी प्रा.डा.विष्णु सिं राईज्यूको आर्थिक सहयोगमा किरात पुमा राई तुप्खाबाङ्खालाको लागि पुमा राई समुदायका प्रखर लेखक, नाटककार तथा संस्थाका संस्थापक सचिव श्री प्रविण पुमाको सुम्निमा–पारुहोङ नाटक संग्रह वि.सं. २०६४ सालमा प्रकाशन गरिएको छ । त्यसैगरी केन्द्रीय कार्य समिति, जिल्ला कार्य समितिहरू, सुनसरी र खोटाङले भित्ते पात्रो समेत प्रकाशन गरेका छन् ।

६. किरात पुमा राई चीर स्थायी कोषको स्थापना :

 पुमा राई भाषाको सवृद्धि र बुङवाफोप पत्रिकाको निरन्तर प्रकाशनको लागि स्थायी स्रोत जुटाउन किरात पुमा राई तुप्खाबाङ्खाला, बेलायतको अगुवाईमा किरात पुमा राई चीर स्थायी कोष स्थापना गरिएको छ । यो कोष स्थापनाको प्रमुख नेतृत्व आदरनिय भु.पु. क्याप्टेन(ब्रिटिश गोर्खा) श्री मानबहादुर राईले गर्नु भएको हो । यस कोषमा हालसम्म जम्मा रु ८,५०,०००÷– (अक्षरेपी आँठ लाख पचाँस हजार) जम्मा भएको छ भने यसको व्याजबाट बुङवाफोप पत्रिकाको १२ अंकदेखि नियमित रूपमा आर्थिक स्रोत उपलब्ध हुँदै आएको छ ।

७. हङकङमा पुमा साँझ :

पुमा राईहरूको मुख्य थलो खोटाङको चिसापानीमा पुमा सांस्कृतिक भवन निर्माणार्थ किरात पुमा राई तुप्खाबाङ्खाला, हङकङको अगुवाईमा पुमा साँझ १ र २ आयोजना गरी जग्गा प्राप्ति कार्य सम्पन्न भएको छ भने भवनको नक्सा डिजाइन समेत तयार भईसकेको छ । पुमा साँझ आयोजना गरी पुमा राईहरूको अस्तित्व र उपस्थिति देखाउँदै आर्थिक संकलन समेत गर्न हङकङ निवासी श्री सुबास राई, श्री बचन राई, श्री पेङगुइन राई, श्री विनोद राई लगायतको विशेष भूमिका र योगदान रहेको थियो ।

८. आपतकालिन साथ सहयोग :

देश तथा विदेशमा रहेका पुमा राईहरूले विरामी भई उपचार खर्चको अभाव भएका पुमा राई बन्धुहरूको उपचार खर्चमा सहयोग जुटाउने, मर्दापर्दा सानोतिनो सरसहयोग गर्ने गरेको छ । यसको लागि स्थायी कोष नभएकोले तत्काल राहत तथा सहयोग जुटाउने गरिएको छ । आपतकालिन आर्थिक स्रोत व्यवस्थापन गर्न आपतकालिन कोष स्थापना गरिए पनि विविध कारणले हाल यो कोष शून्य हुन गई निष्क्रिय रहेको छ ।

९. बहुभाषी शिक्षाको लागि म्यानुअल लेखन :

वि.सं. २०६७ सालमा अनौपचारिक शिक्षा केन्द्रको प्राविधिक तथा आर्थिक सहयोगमा बहुभाषी शिक्षाको लागि पुमा राई भाषामा शिक्षक सहयोगी पुस्तिका-Teacher’s Manual, TM) र स्वअध्ययन सहयोगी पुस्तिका-Self Learning Manual, SLM)  लेखन कार्य गरियो । यस कार्यको लागि विशेष योगदान केन्द्रका तत्कालिन उपनिर्देशक आदरनिय दिदी श्री माया राई(भोजपुर)को रहेको थियो । संस्थाको तर्फबाट श्री धन बहादुर राई, श्री राजकुमार राई, श्री किशोर राई, श्री खडगबहादुर राई र श्री श्रीकुमार राई खटिनु भएको थियो ।

१०. बहुभाषी शिक्षाको लागि तालिम  :

वि.सं. २०६८ साल बैसाख÷जेष्ठमा शैक्षिक तालिम केन्द्र, खोटाङको आर्थिक तथा प्राविधिक सहयोगमा चिसापानी स्रोतकेन्द्र, चिसापानी मा.वि.मा ५० जना पुमा राई भाषी शिक्षकहरूलाई बहुभाषी शिक्षाको सम्बन्धमा एक हप्ते तालिम दिईएको थियो । सो तालिम वि.सं. २०६९ सालको जेष्ठमा समेत २५ जना पुमा राई भाषी स्थानीय शिक्षकहरुलाई दिईएको थियो । यस तालिमको लागि सरकारी निकायहरुमा समन्वय गर्ने मुख्य भूमिका अनौपचारिक शिक्षा केन्द्रका तत्कालिन उपनिर्देशक आदरनिय दिदी श्री माया राई(भोजपुर)को रहेको थियो भने चिसापानी स्रोत केन्द्रका तत्कालिन स्रोत व्यक्ति श्री मोहनबहादुर राई र चिसापानी उमाविका प्र.अ. श्री रामबहादुर राउतको भूमिका समेत सराहनीय रह्यो । यस तालिममा संस्थाको तर्फबाट प्रशिक्षकको रुपमा श्री धनबहादुर राई, श्री खडगबहादुर राई, श्री खगिन्द्र(पुनम) राई, श्री राजकुमार राई र श्री परशुराम राई(विराट) ले स्वयंसेवकको रुपमा योगदान गर्नु भएको थियो ।

११. गीति क्यासेटको प्रकाशन तथा पुमा भाषामा गीत रेकर्ड:

वि.सं. २०६७ सालमै पुमा राई भाषाका ६ वटा गीतहरूको संग्रह मिन्मा गिती क्यासेट प्रकाशन गरिएको थियो । सो गीति क्यासेटको निर्माणको नेतृत्व तत्कालिन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष श्री खडगबहादुर राईले गर्नु भएको थियो भने आर्थिक योगदान तत्कालिन केन्द्रीय कोषाध्यक्ष श्री ध्रुवकुमार राई लगायतले गर्नु भएको थियो । नेपालको गायन क्षेत्रका सुपरस्टार राई इज किङका नामले प्रख्यात श्री राजेशपायल राईले विभिन्न राई मातृभाषाहरूमा गीति एल्बम प्रकाशन गर्दा एउटा पुमा राई भाषाको नामसोन् लोन्मा बुसित के खुप्सिने समेत गीत समावेश गर्नु भई पुमा भाषी राईहरूलाई ठूलो गुण लगाउनु भएको छ । सो गीतको शब्द श्री श्रीकुमार राईले र संगीत श्री खडगबहादुर राईले गर्नु भएको छ ।

१२. जग्गा प्राप्ति :

किरात पुमा राई तुप्खाबाङ्खाला हङकङले आयोजना गरेको पुमा साँझ १ र २ बाट भएको बचत रकमबाट आ.व.२०७३।७४ खोटाङ चिसापानी बजारमा रहेको साकेन्वा थानसँगैको चार आना जग्गा खरिद गरी संस्थाको नाममा दर्ता भएको छ । सो जग्गा बिक्रेताहरू श्री सम्झना राई र श्री लता राई दुवैजना किरात पुमा राई तुप्खाबाङ्खाला, खोटाङका पदाधिकारी सदस्य हुनुभएको र संस्था तथा समुदायलाई सहयोग गर्ने प्रबल ईच्छा भएकोले चार आना जग्गामध्ये दुई आनाको मात्र रकम लिनु भएको र दुई आना निजहरूले संस्था तथा समुदायलाई प्रदान गर्नु भएको हो । त्यसैगरी आ.व. २०७४।७५ चैत्र महिनामा जिल्ला कार्य समिति, धनकुटाले धनकुटा जिल्ला सहिदभूमी गाउँपालिका वडा नं. ३ (साविक छिन्ताङ गा.वि.स. वडा नं. ३) गौराटोल पाताल निवासी श्री लक्ष्मणसरी राईबाट यस संस्थालाई कार्यालय तथा सामुदायिक भवन निर्माणको लागि ४ आना जग्गा निःशुल्क प्राप्त भएको छ । यसको अतिरिक्त २०७५ सालदेखि किरात पुमा राई तुप्खाबाङ्खाला, सुनसरीले धरान आसपासमा जग्गा खरिद गरी भवन निर्माणार्थ अभियान सञ्चालन गरिरहनु भएको छ ।

१३. गोरखा एफ.एम.मा पुमा भाषाको कार्यक्रम :

गोरखा एफ.एम. काठमाडौंबाट मिति २०७० माघ १ गतेदेखि ‘स्यामुना’  नामक पुमा राई भाषाको कार्यक्रम श्री पविता पुमा राईले पाचौं श्रृंखलासम्म गर्नुभएको थियो । यसले पुमा राई भाषामा पनि रेडियो कार्यक्रम सम्भव छ भन्ने सन्देश दिएको थियो । विडम्वना यस कार्यक्रमलाई निरन्तरता दिन सकिएन ।

१४. पहिचान र अस्तित्वको प्रतिनिधित्व :

सबभन्दा पहिलो त पुमा राई जातिको भाषा, संस्कार र संस्कृतिको पहिचान, संरक्षण र विकासको लागि संस्था स्थापना गरी सबैलाई पुमा राईहरूको अस्तित्वको परिचय दिइयो । काठमाडौं उपत्याका तथा अन्य जिल्ला र विदेशमा समेत किरात पुमा राई तुप्खाबाङ्खालाको नाममा पुमा राईहरूको परिचय, पहिचान र प्रतिनिधित्व गरिरहेको छ ।

१५. पुमा राई भाषा पाठ्यपुस्तक निर्माण :

कोरोना महामारीको समयमा वैकल्पिक विधिबाट मिति २०७७ जेष्ठ ३० गते शुक्रबार देश विदेशमा रहेका पुमा राईहरूको सहभागितामा गुगल मिटबाट बैठक बसी पुमा राई भाषाको आधारभूत विद्यालय तहको पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्न यस संस्थाका भूतपूर्व अध्यक्ष तथा वर्तमान सदस्य श्री खडगबहादुर पुमा राईको संयोजकत्वमा ७ सदस्यीय पुमा राई भाषाको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण प्राविधिक समिति गठन गरिएको थियो । सो समितिमा काठमाडौंबाट श्री परशु पुमा राई, श्री खगिन्द्र(पुनम) पुमा राई र श्री गणेश चिन्तन पुमा राई, सुनसरीबाट श्री सजन पुमा राई, खोटाङबाट श्री धनबहादुर पुमा राई र श्री सम्झना पुमा राई हुनुहुन्थ्यो । सो समितिले सोचे भन्दा धेरै छिटो ४ महिना मै कक्षा १ देखि कक्षा ५ सम्मको लागि स्थानीय मातृभाषा ऐच्छिक विषयको लागि पाठ्यक्रमकक्षा १ को लागि बहुरंगिन चित्रांकन सहितको पाठ्यपुस्तक तयार गरेको छ । यस सँगै श्री गणेश चिन्तन पुमा राईद्वारा संकलित तथा सम्पादित आधारभूत पुमा शब्दकोश (पुमानेपालीअंग्रेजी) सहित ३ वटा पाठ्यसामग्रीहरू २०७७ असोज २८ गते छापाखानाबाट प्राप्त भएका छन् । ति पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्दा भाषाविद तथा शिक्षाविदहरू प्रा.डा. नोवलकिशोर राई, प्रा.डा. विष्णुसिं राई, प्रा.डा. टंकप्रसाद न्यौपाने र डा. नेत्रमणी दुमी राई (किरात राई यायोक्खाबाट) विद्वान विज्ञहरूको परामर्श तथा सुझावहरू ग्रहण गरिएको थियो । त्यसैगरी उपप्राध्यापक डा. तारामणी राई, पाठ्यक्रम विकास केन्द्र भक्तपुरका विज्ञ कर्मचारी तथा यस भन्दा अगाडि पाठ्यक्रम र पाठ्यपुस्तक तर्जुमा गरीसकेका अन्य पुमा राई समुदायका विद्वान् अभियन्ताहरूसँग समेत प्राविधिक समितिले छलफल तथा विचारर आदान प्रदान गरेको थियो । समुदाय स्तरमा समेत श्री चिसापानी नमुना मा वि जन्तेढुंगा  खोटाङ लगायत स्थानमा अन्तरक्रिया तथा छलफल संचालन गरिएको थियो । संस्थाको विशेष अनुरोधमा खोटाङका जन्तेढुंगा गाउँपालिका र बाराहापोखरी गाउँपालिकाले आ.व. २०७७।७८ को बजेटमा मातृभाषा शिक्षण कार्यक्रमको लागि पहिलो पटक बजेट विनियोजन गरेका छन् । पाठ्यक्रम र पाठ्यपुस्तक स्वीकृत भएपछि संभाव्यता अध्ययन गरी विद्यालयहरूमा पठनपाठनको कार्य अघि बढाउन सम्बन्धित पालिकाहरू, निकायहरू र विद्यालयहरूसँग समन्वय भईरहेको छ ।

१६. वेभसाइट संचालन :

किरात पुमा राई तुप्खाबाङखालाको, बेलायतको रू ५० हजार आर्थिक सहयोग तथा वेवसाइट डिजाइनर श्री गणेश चिन्तन पुमा राईको प्राविधिक सहयोगमा बजार मूल्य भन्दा निकै कम मूल्य तथा उच्चतम गुणस्तरमा यस संस्था तथा पुमा राई समुदायको भाषा, संस्कार, संस्कृति तथा साहित्यको संरक्षण विकास प्रचार प्रसार र एकआपसमा रहेका भएका सूचना आदानप्रदान गर्न www.pumarai.org  यहि मिति २०७७ साल श्रावण २ गतेदेखि प्रकाशन गर्न शुरूवात गरिएको छ । यसले संसारभरका पुमा राईहरूबीच एकता र सहकार्यमा सहयोग गर्ने अपेक्षा गरिएको छ । साथै यस वेवसाइट र बुङवाफोप पत्रिकामा प्रकाशन गर्न लेख रचना, सूचना तथा विज्ञापन समेत पठाईदिनु हुन सबैमा अनुरोध छ ।

१६. जिउँदाको जन्ति, मर्दाको मलामी :

काठमाडौं उपत्याका लगायत संस्थाको कार्यसमिति रहेको स्थानहरूमा साकेला(फागु)मा सामूहिक पुमा लाक, तिहारमा सामूहिक देउसी भैलो तथा कहिलेकाहि वनभोज कार्यक्रम आयोजना गरी उपत्याका लगायत विभिन्न ठाउँमा रहने पुमा राईहरूमा भाईचारा, सद्भाव र सहयोग बढाउने गरिएको छ । तिहारको समयमा आयोजना गरिने देउसी भैलो कार्यक्रम संस्थाको लागि आर्थिक स्रात जुटाउने माध्यम बनेको छ । संस्था पुमा राई थातथलो छोडेर गई काठमाडौंमा स्थायी तथा अस्थायी बसोबास गर्ने पुमा राईहरूबाट स्थापना भएकोले त्यहाँ, मर्दापर्दा मलामी तथा सहयोगी भेला गराउने कार्य निरन्तर रूपमा गरी आएकोछ । विदेशमा ज्यान गुमाई नेपाल शव ल्याएर काठमाडौंमा दाहसंस्कार गर्ने, तथा गाउँतिर शव लैजाने अवस्थामा सूचना जानकारी प्राप्त भएसम्म सहयोग र समन्वय गर्ने गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ