त्यही घरबारीमा
कोदो फुल्यो होला
कोदो संगै त्यही डिलमा
सायपत्री फुल्यो होला
घरमा तिहारको झिलिमिली
रमझम छाउन थाल्यो होला
त्यही रमझममा गाउँघरले
मुग्लान जानेलाई भुल्न थाल्यो होला ।

सानो घरको आँगनमा
देउसी—भैली आउन थाल्यो होला
आमाले नाङ्लोमा सेलरोटी, फूलमाला
दीयो बालि दक्षिणा दिनुभयो होला
रमाउदैथे देउसी—भैली
आशिक दिने बेला भएछ
सिकुवामा बसेर आमा खुशी हुदै
ताली बजाउन थाल्नुभो होला ।

चेलीले फूलको थुँगा  निम्तो माइतीलाई दिदै
भाईटिका निम्ताउदै होला
खुशी हुदै माइतीले पनि चेलीको निम्तो
फूलको थुँगा स्वीकार्दै होला
सेलरोटी बनाउदै आमा देउसी—भैली गीत
रेडियोमा सुन्दै होला
चेलीले सयपत्री र मखमली मिलाएर
धागोमा उन्दै होला ।

माइतीको दीर्घायुको कामना गर्दै
चेलीले ढोकामा ओखर फोर्दै होला ।
सप्तरङ्गी टिका र फूलमाला लगाएर
चेली—माइती दुख, कष्ट भुल्दै होला
चेलीको हातको टिका, माला लगाएर
माइती पनि होला दङ्ग
मखमली झै कहिल्यै नओईलियोस्
माइती चेलीको उमङ्ग ।

मनोज पुमा, खोटाङ, जन्तेढुङ्गा—६, निगालबास
हालः दक्षिण कोरिया

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ