निस्पट अँध्यारोमा छामछुम गर्दै
घनघस्याको उकालो काट्नु पर्ने
अनवरत यात्रा हो यात्रीको
दायाँ जाउँ कि बायाँ
दोधारो मन मुटु भित्र सँगालेर
बढिरहन्छन् पाइलाहरू अनायासै
अञ्जानै अञ्जानमा
काेसौँ दूरि पार गर्छ यात्रीले
अँध्यारोमा हानेको गुलेली झैँ
तय गरेको गन्तव्य स्थल
अचानक भत्किदा
गुन्द्रुक थुप्रिए झैँ
भुतुक्क परेर
थच्किन्छ यात्री
यात्रा हो जिन्दगीको
यात्री हो नवजवान मानव
गन्त्वय निश्चित नभएको
रतन्धो रोगीलाई गोधुलीले
निस्पट सताए झैँ
धमिलिएको पानीको माछा हो
नवयुवा नवजवान
सिङ्गो संसारको यात्री
अबोध यात्री।
– गणेश पुमा चिन्तन
२०६३।०७।११

