योङ्युप्चिदो (पाइलाहरूमा) उपन्यासको दोस्रो संस्करण प्रकाशित भएको छ। गणेश पुमा चिन्तनद्वारा लिखित यो उपन्यासमा पुमा राईहरूले वर्षभरि मान्ने संस्कार र संस्कृतिहरूका बारे व्याख्या गरिएको छ। भूमिपूजा, अन्नपूजा, उधौलीउभौली सेवा, सुम्निमा पूजा, ठूलोसानो पितृपूजा, खोलानाला, चराचुरुङ्गी, मुन्दुमी शब्द उच्चारण लगायतका संस्कारहरूका विषय उपन्यासमा उठान भएका छन्। त्यसैगरी पुमा राईहरूले जन्मिनुपूर्वदेखि मृत्युपश्चातसम्म गर्ने रीतिरिवाजका बारे पनि उल्लेख गरिएको छ।
बच्चा आमाको पेटमा रहदादेखि जन्मिदासम्म र जन्मेपछिको केही महिनामा गरिने संस्कारदेखि लिएर छेवर, विवाह, मृत्यु र मृत्यु पश्चात् के के विधिविधान गरिन्छ भन्ने तथ्यहरू उपन्यासबद्ध भएका छन्। पुमा भाषा र नेपाली भाषामा लेखिएको यो पहिलो उपन्यास हो। उपन्यास योङ्युप्चिदो (पाइलाहरूमा) को प्रथम संस्करण विक्रम सम्वत् २०६८ यलेदोङ् ५०७१ मा प्रकाशित भएको थियो। पुस्तकको मूल्य रू. ३५५ तोकिएको छ।



