१. पृष्ठभूमी
नेपालको जनगणना २०६८ (2011 A.D.) अनुसार १२३ भाषाहरुमध्ये ६,६८६ जनाले बोल्ने पुमा राई भाषा हो । तर हाम्रो समुदायको संख्या यो भन्दा बढी नै रहेको छ भन्ने हाम्रो दाबी छ । सिनो–तिब्बेटन भाषीक परिवारको राई किराती उप–समूहको पुमा राई भाषा बोल्ने पुमा राईहरुको बसोबास पूर्वी नेपालको खोटाङ जिल्लाको साविक दिप्लुङ, मौवाबोटे, देवीस्थान, चिसापानी, पौवासेरा, साउनेचौर, सुन्तले र फाक्टाङ गा.वि.स.(हाल जन्तेढुंगा गाउँपालिका र बाराहापोखरी गाउँपालिका) तथा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका भए पनि बसाई सराईलेको क्रमले छरिन पुगेका र भाषा बोल्नेको संख्या पनि घट्दै गएको अनुमान छ । पहिला हामी पुमा राईहरु जम्मा दुई बोबी रहेकोमा हाल दबलुुङ, रुथुम(पालुन), साक्सालुङ तङालुङ(हेन्योङ्छाहरूको) र निनाम (बसाईसराई गरेको स्थानको)बोबी गरी जम्मा ४ बोबी तथा १४ पाछा रहेका छौं । किरात राई योयोक्खाको अध्ययनले पुमा राई भाषालाई अति लोपोन्मुख र नेपाल सरकारले मृतप्रायः भाषाको रुपमा लिएको छ ।
२. संस्थाको आवश्यकता, स्थापना, नामाकरण र केही महत्वपूर्ण निर्णयहरू
किरात पुमा राई तुप्खाबाङ्खाला सम्पूर्ण पुमा राईहरूलाई एकताको सुत्रमा बाध्ँदै पुमा राई भाषा, संस्कार र संस्कृतिको लागि स्थापना भएको गैरनाफामूलक सामाजिक संस्था हो । विशेषतः नेपालको राजनीतिमा पहिचानवादी विचारधाराको बढ्दो बहस र मर्दापर्दा साथ सहयोगको आवश्यकताले यो संस्थाको लागि संगठित हुन तत्कालिन समयमा काठमाडौं उपत्याकामा रहनु हुने पुमा राईहरूलाई संगठित बनायो । वि.सं. २०६० साल पुष ४ गते (म्भअझदभच ज्ञढ, द्दण्ण्घ) श्री प्रविण पुमाको नेतृत्वमा काठमाडौंमा बसोबास गर्ने पुमा राईहरूको पहिलो भेला ताल्छिखेल, ललितपुरमा बस्यो । सो भेलामा श्री भुपराज राई(छुप्लुङ, दिप्लुङ), श्री दुर्गा बहादुर राई(ऐलेगैरा, दिप्लुङ), श्री रुखमान राई सपविार(अइलेगैरा, दिप्लुङ), श्री गणेश राई(मौवाबोटे), श्री तारा राई(मौवाबोटे), श्री प्रविण पुमा(पाथीभारा, चिसापानी), श्री जयकुमार राई(पाथीभारा, चिसापानी), श्री सूर्यविक्रम राई(पाथीभारा, चिसापानी), श्री धन बहादुर राई(पाथीभारा, चिसापानी), श्री अशोक राई, श्री वीरबल राई(सातमारा, दिप्लुङ), श्री लाखमान राई(देवीस्थान)को उपस्थिति रहेको थियो ।
त्यसैगरी वि.सं. २०६० साल पुष ११ गते (December 19, 2003) काठमाडौं उपत्याकामा बसोबास गर्ने पुमा राई भाषीहरूको दोस्रो भेलाबाट ‘किरात पुमा राईहरूको धर्म, संस्कृति, रिती रिवाज र परम्परालाई अध्ययन, अनुसन्धान गर्दै बचाएर राख्नको लागि’ “पुमा रोदुङचिबो तुप्खाबाङ्खाला” नामक संस्था स्थापना गरी ७ सदस्यीय तदर्थ कार्य समिति गठन गरियो । सो कार्य समितिको अध्यक्ष श्री तारा पुमा, उपाध्यक्ष भुपराज पुमा, कोषाध्यक्ष श्री कृष्णा पुमा, सचिव श्री प्रविण पुमा र सदस्यहरू श्री मिलन पुमा (काठमाडौं), श्री देविका पुमा(ललितपुर) र श्री दुर्गाबहादुर पुमा(भक्तपुर) मनोनित हुनुभयो । यस दिन प्रविण पुमा, खडग पुमा, चतुरकुमारी पुमा, धन बहादुर पुमा, भुपराज पुमा, कृष्णाकुमारी पुमा, ध्यानेपा पुमा, दुर्गाबहादुर पुमा, मिलन पुमा, वीरबल पुमा, कपिल पुमा, मिना कुमारी पुमा, सुमन पुमा, नरमाया पुमा, अम्बिका पुमा, मैया पुमा, आशु पुमा, ज्ञानबहादुर पुमा, कमला पुमा, दिपेन्द्र(सागर) पुमा, दलबहादुर पुमा, तारा पुमा, टीकामाया पुमा, जस बहादुर पुमा, विवेक पुमा, कुमार पुमा, उमेश पुमा, नरेन्द्र पुमा, पविता पुमा, देशराज पुमा, भुपेन्द्र पुमा, गोपाल पुमा, देवीका पुमा, डेविट राई लगायत ४० जनाको उपस्थिति रहेको थियो ।
सोही दिन बसेको तदर्थ कार्य समितिको बैठकले संस्थाको बैठक प्रत्येक महिनाको पहिलो शनिबार विहान ११ः०० बजे संस्थाको अध्यक्ष श्री तारा पुमा राईको घरमा बस्ने, प्रत्येक महिना प्रतिव्यक्ति रु ५०÷ लेवी उठाउने, संस्थाको साधारण सदस्य वापत पच्चिस रुपैयाँ शुल्क लिने र संस्थाको नाममा लेटरप्याड र छाप छपाई गर्ने पहिलो निर्णय भएको थियो । सोही दिन श्री धन बहादुर पुमा राई, श्री पविता पुमा राई, श्री आशु पुमा राई, श्री कुमार पुमा राई, श्री नेरेन्द्र पुमा राई, श्री नरमाया पुमा राई, श्री दिपेन्द्र पुमा राई, श्री दलबहादुर पुमा राई, श्री गोपाल राई, श्री दिल बहादुर पुमा राई, श्री मैया पुमा राई, श्री कर्ण पुमा राई, श्री ज्ञान बहादुर पुमा राई र श्री अम्बर पुमा राई संस्थाको साधारण सदस्य बन्नु भएको सो दिनको अभिलेखले देखाउँछ ।
संस्थाको वि.सं. २०६० साल माघ ३ गते (January 17, 2004) बसेको बैठकमा जम्मा २४ जनाको उपस्थिति रहेको र सो बैठकले साधारण सदस्यहरू श्री खडगबहादुर राई, श्री नरेन्द्र राई, श्री पदमकुमारी राई र श्री पविता राईलाई कार्यसमितिको सदस्यमा थप गरी कार्य समिति ११ सदस्यीय बनाएको थियो । साथै कुनै कार्य समिति सदस्य वा पदाधिकारी नियमित बैठकमा उपस्थित नभएमा साधारण रुपमा लाग्ने लेवीको दोब्बर शुल्क तिर्नु पर्ने र अर्को बैठक कोेषाध्यक्ष श्री कृष्णाकुमारी राईको ठेचोस्थित घरमा बस्ने निर्णय पारित गरेको थियो । यसरी शुरुमा पालैपालो प्रणाली मार्फत् सबै पदाधिकारी तथा सदस्यहरूको घर वा डेरामा बैठक बस्ने निर्णय गरिएको थियो ।
त्यसैगरी संस्थाको चौथो बैठक वि.सं. २०६० साल फागुन २ गते (February 14, 2004) र पाचौं बैठक वि.सं. २०६० साल चैत्र ७ गते (March 20, 2004) बस्यो । पाचौं बैठकबाट संस्थाको छाप र विधान संशोधन सहित पारित गरेको थियो भने कार्य समिति विस्तार गरी सहसचिवमा श्री नरेन्द्र राईलाई र सदस्यहरूमा श्री भीम पुमा, श्री सूर्यविक्रम पुमा, श्री अमृत पुमा र श्री ज्ञानबहादुर पुमा गरी ४ जना थप गरी जम्मा १५ सदस्यीय कार्य समिति बनाईयो । साथै संस्थाको साविक नाम ‘पुमा रोदुङचिबो तुप्खाबाङ्खाला लाई संशोधन गरी ‘किरात पुमा राई तुप्खाबाङखाला पारित गरियो । तुप्खा पुमा राइ भाषाको नेपाली अर्थ भेटिने ठाउँ र बाङखाला को अर्थ भाषामा कुरा गर्ने वा बातचित गर्ने ठाउँ भन्ने बुझाउँछ । यी शब्दले ज्यादै गहन र दूरगामी मर्मको अर्थ बोकेको छ ।
मिति २०६१ साल बैशाख ५ गते (April 17, 2004) बसेको छैटौं बैठकले संस्थाको उभौली साकेलामा सहभागिता जनाउने, बैशाख महिनाभरीमा सबै पुमा राईहरू सपरिवार वनभोज कार्यक्रममा सहभागी हुने र अध्यक्ष श्री तारा पुमा, सचिव श्री प्रविण पुमा, सहसचिव श्री नरेन्द्र पुमा, सदस्यहरू श्री अमृत पुमा, श्री भीम पुमा, श्री सूर्यविक्रम पुमा र श्री पदमकुमारी पुमा सम्मिलित ७ सदस्यीय संस्थाको सचिवालय गठन गरियो । मिति २०६१ साल साउन २ गते (July 17, 2004) बसेको आठौं पूर्ण बैठकले संस्थाको प्रमुख सल्लाहकारमा श्री शिवधन राई मनोनयन गरिएको र केही आर्थिक स्रोत सम्बन्धमा निर्णय गरिएको थियो ।
मिति २०६१ साल भाद्र २६ गते (September 11, 2004) उपाध्यक्ष श्री भुपराज राईको निवास नयाँबानेश्रमा बसेको नवौं बैठकले संस्थाको पहिलो अधिवेशन मिति २०६१ साल असोज २३ गते (October 9, 2004) गर्ने निर्णय ग¥यो । सो अधिवेशनमा श्री अमृत पुमा राईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गर्यो ।
३. संस्थाको आवद्धता र दर्ता
वि.सं. २०६०(2003/2004) सालताका राजनीतिक संक्रमणकाल रहेकोले सामाजिक संस्थाहरू दर्ता गर्न त्यति सहज थिएन । त्यसैले किरात पुमा राई तुप्खाबाङखाला किरात राई यायोक्खाको पहिलो भाषिक संस्थाको रुपमा आवद्ध भयो । यस भन्दा अगाडि अन्य राई भाषी समुदायको सामाजिक संस्थाहरू विधिवत् रुपमा दर्ता भई कार्य गरिरहेका भए पनि यसरी किरात राई यायोक्खासँग आबद्ध हुने चलन थिएन । पछि राजनीतिक व्यवस्थामा परिवचर्तन भएपश्चात् वि.सं. २०६४ मंसिर ७ (November 23, 2008)मा ललितपुर जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता ऐन, २०३४ बमोजिम विधिवत रुपमा दर्ता भई समाज कल्याण परिषदमा आवद्ध भयो । दोस्रो अधिवेशनबाट निर्वाचित श्री अमृत पुमा राई अध्यक्षतामा रहेको केन्द्रीय कार्य समितिले संस्थाको दर्ता कार्य गरेको थियो ।
४. संस्थाको उद्देश्य तथा कार्यक्रम
२०६४ को दफा ४ मा निम्नानुसार संस्थाको मुख्य उद्देश्य तथा कार्यक्रमहरू रहेका छन् ।
(क) किरात पुमा राईहरूको मातृ भाषा (रकोङला) को संकलन शब्दकोश, व्याकरण, पाठ्यपुस्तक, पाठ्यक्रम आदिको निर्माण गर्ने कार्यमा सहयोग पुर्याउने ।
(ख) पुमा भाषाका रचनाहरूको संकलन र प्रकाशन गरी पुमा साहित्यलाई सम्पन्न वनाउँदै लैजाने ।
(ग) पुमा भाषालाई रेडियो, टेलिभिजन, पत्रपत्रिका जस्ता छापा सञ्चार माध्यम तथा शैक्षिक एंव प्रशासनिक कार्यलाई संचालन प्रयोगमा ल्याउन सम्वन्धित निकायसंग पहल गर्ने ।
(घ) पुमा राईहरूको विभिन्न पर्व फागु (साकेला), जन्मदेखि मृत्युसम्मका संस्कार, वर्ष भरिमा गरिने संस्कृतिहरूको र जीवन शैलिको वारेमा खोज,अनुसन्धान गर्ने, गराउने ।
(ङ) विभिन्न समयमा महत्वपूर्ण काम गरेका पुमा समुदायका ब्यक्तिहरू तथा समाजमा प्रभाव पारेका महत्वपूर्ण घटनाहरूको अध्ययन अनुसन्धान तथा अभिलेखिकरण गरी संकलन तथा प्रकाशन गर्ने ।
(च) किरात पुमा राईहरू भित्र पर्ने सम्पुर्ण पाछा अनुसारको वंशावली खोजी तथा प्रकाशन गरी परिमार्जन गर्दै लैजाने ।
(छ) स्वदेश तथा विदेशमा रहेका पुमा राई लगायत सम्पुर्ण आदिवासी तथा जनजातिसँग सहयोग आदान प्रदान गर्ने ।
५. संस्थाको संगठन विस्तार
यो संस्था स्थापना भए पछि यसको जिल्ला कार्य समितिको रुपमा खोटाङको चिसापानी, उदयपुरको बेलटार, सुनसरीको धरान, धनकुटाको छिन्ताङ र झापा जिल्ला कार्य समिति गठन भई क्रियाशील छन् । त्यसैगरी वैदेशिक रोजगारी तथा बसाईसराईको क्रममा विभिन्न देशमा बसोबास रहेका पुमा राईहरूको सक्रियतामा किरात पुमा राई तुप्खाबाङ्खालाकै नाममा बेलायत, हङकङ, संयुक्त अरब ईमिरेट्स(युएई), मलेसिया र कतारमा समेत संस्थाहरू स्थापना भई विभिन्न क्रियाकलापहरू संचालन गर्दै, पुमा राई समुदायमा जनचेतना र एकताको डोरी मजबुत बनाउँने कार्यमा सक्रिय रहेका छन् ।