• रीता लम्साल

कोरोना संक्रमणबाट बच्न मास्क लगाउने, समय–समयमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने र भौतिक दुरी कायम गर्ने विषयमा अधिकांस जानकार छन्। अभिभावकले पनि आफ्ना स–साना छोराछोरीलाई जनस्वास्थ्यका यी मापदण्डका विषयमा जानकारी गराउने र व्यवहारमा उतार्ने काम गरिरहेको पाइन्छ।

तर, कोरोना संक्रमणको विषयमा बालबालिकाको उमेर र उनीहरुको मनस्थिती अनुसार कतिसम्म र कसरी सूचना दिने भन्ने विषयमा ध्यान नदिँदा बालबालिकामा कोरोनाको त्रासले मनोवैज्ञानिक समस्यामा पर्न सक्छन्।

गत वर्ष कोरोना संक्रमणका कारण भएको लकडाउन र निषेधाज्ञाको समयमा यस्तै मनोवैज्ञानिक समस्या भएकी एक बालिकालाई उनका अभिभावकले महाराजगञ्जको कान्ति बाल अस्पतालमा लगेका थिए। ७ वर्षीया ती बालिकाको घर नजिकै पानी बगिरहने धारा थियो। उनी कोरोनाबाट बच्न साबुनपानीले हात धुनुपर्छ भन्दै धारामा पुग्थिन् र हात धुने गर्थिन्। आफ्नो आमाबुबालाई पनि हात धुनुपर्छ भन्थिन्। सुरुमा सरसफाइमा ध्यान दिएको देखेर आमाबुबा खुसी भए।

तर, ती बालिकाको दिमागमा हात धुनुपर्छ भन्ने सोचाइ यसरी गडियो कि उनी जतिबेला हात मात्र धोएर बस्न थालिन्।

ती बालिकाले विस्तारै दैनिक क्रियाकलाप नै छाडेर ‘मलाई कोरोना लाग्छ मम्मी, बाबालाई पनि कोरोना लाग्छ’ भन्दै आत्तिदै हात मात्र धोइरहने गर्न थालिन्। बालिकाको दैनिक क्रियाकलापमै असर पर्ने गरी हातमात्र धोइरहने बानी बसेपछि उनका अभभिवाकले कान्ति बाल अस्पतालमा उपचारका लागि लगेका थिए।

अस्पतालको बालबालिका तथा किशोरकिशोरी मनोवैज्ञानिक युनिटमा कार्यरत बाल मनोचिकित्सक डा उत्कर्ष कार्कीले ती बालिकालाई परामर्श र केही औषधि दिएर पठाए।

डा कार्कीका अनुसार ती बालिकामा कोरोना संक्रमणको त्रासका कारण आत्तिने र डराउने समस्या बढ्दै गएको थियो। डर र त्रासका कारण एउटै कुरा पटक–पटक गरिरहने समस्या देखिएको डा कार्कीको भनाई छ। उनका अनुसार गतवर्ष कोरोना संक्रमणपछि बालबालिकाहरुमा डराउने, आत्तिने, एन्जाइटी लगायतका मनोवैज्ञानिक समस्या देखिएको थियो।

बालबालिकाहरुलाई उमेर अनुसार उपयुक्त सूचना दिन नसक्दा उनीहरुमा कोरोना संक्रमणका कारण मनोवैज्ञानिक असर बढेको डा कार्कीले बताए।

‘कोरोना संक्रमणको विषयमा सूचना दिँदा पनि बालबालिकाहरुमा डर, त्रास पैदा नहुनेगरी सहि सूचना तर आवश्यक पर्ने सूचना मात्र दिनुपर्छ,’ डा कार्कीले भने, ‘उमेर अनुसारको ज्ञान दिनसके उनीहरुले पनि सकारात्मक रुपमा त्यसलाई लिनसक्छन्। नत्र उनीहरुमा मनोवैज्ञानिक समस्या बढ्न सक्छ।’

गतवर्ष कोरोना संक्रमणका कारण ढिलोगरी शैक्षिक गतिविधि सुरु भयो। विद्यार्थीहरु संक्रमणको त्रास बिर्सिएर विद्यालय जान थालेका थिए।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भइसकेको भन्दै सरकारले कोरोना अति प्रभावित १४ जिल्लामा फेरी विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ।

विद्यालय बन्द हुँदा बालबालिकाहरु फेरि घरभित्रै आफूलाई सिमित गर्नुपर्ने अवस्थामा पुगेका छन्।

कोरोनाका त्रासकाबीच घरभित्रै बस्नुपर्ने बाध्यताका कारण बालबालिकाहरुमा फेरी मनोवैज्ञानिक असर बढ्नसक्ने मनोचिकित्सक डा कार्कीको भनाई छ। उनका अनुसार घरभित्रै बसिरहनुपर्दा बालबालिकाहरुमा धेरै समयसम्म इलेक्ट्रोनिक खेलौना तथा मोबाइलमा समय व्यतित गर्ने लत बस्ने सम्भवान हुन्छ। जसका कारण उनीहरुमा निद्रामा समस्या हुने, सामाजिक अन्तरक्रिया नगर्ने, नबोल्ने, अन्य मानिसहरुसँग घुलमिल तथा आँखा जुधाएर कुरा गर्न नसक्ने खालको समस्या बढ्ने डा कार्की बताउछन् ।

‘गतवर्षको लकडाउन र निषेधाज्ञाका कारण विशेषगरी ६ वर्ष मुनिका बालबालिकाहरुमा मोबाइल मात्र चलाउने, निद्रामा समस्या भएको, आँखा मिलाएर कुरा नगर्ने लगाएको समस्याहरु देखिएको थियो,’ डा कार्कीले भने, ‘अब फेरि विद्यालय बन्द हुने भएको छ, बालबालिकाको दैनिकीमा अभिभावकले ध्यान नदिए उनीहरुमा मनोवैज्ञानिक समस्या बढ्नसक्छ।’

बालबालिकाहरु घरभित्रै रहँदा अभिभावकले उनीहरुको दैनिकीमा विषेश ध्यान नदिए बालबालिकाको मनौवैज्ञानिक विकासक्रममा समेत असर पर्न सक्ने डा कार्कीले बताए।

‘बालबालिकाहरु घरभित्रै रहँदा पनि सक्रिय हुनुपर्छ,’ डा कार्कीले भने, ‘उमेर अनुसार सक्रियता कम भयो भने उनीहरुको वृद्धिविकासमा पनि असर पर्छ।’

बालबालिकाहरुलाई मनोवैज्ञानिक त्रासबाट टाढा राख्न उनीहरुका लागि दैनिक गर्ने कार्य, खेलकुद, पढाइ लगायतका विषयको तालिका बनाएर सक्रिय बनाउन सकिने डा कार्कीको भनाइ छ।

‘अब विद्यालय बन्द भएपछि उनीहरुको रुटिन बिग्रिन्छ,’ उनले भने, ‘घरभित्रै राख्दा पनि बालबालिकाहरुलाई दैनिक रुटिन बनाएर पढ्ने, खेल्ने, खाने समयको रुटिन बनाएर सोही अनुसार फलो गराउन लगाउनुपर्छ।’

उनले घरभित्रै रहेका बालबालिकाहरुलाई मनोवैज्ञानिक असरबाट जोगाउन अभिभावकहरुले उनीहरुलाई पर्याप्त समय दिनुपर्ने बताए ।

कोरोना संक्रमणबाट जोगाउन के गर्नेरु
नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दैनिक एकहजार भन्दा बढीमा कोरोना संक्रमण देखिन थालेको छ।

पछिल्लो समय कोरोनाको नयाँ भेरिएन्ट पनि देखिन थालेको र बालबालिकाहरुमा पनि संक्रमण बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार पछिल्लो समय एक सय भन्दा बढी बालबालिकाहरु दैनिक संक्रमित भइरहेका छन्। ती मध्ये ९ वर्षसम्मका बालबालिकाको संख्या करिब २० जना भन्दा बढी छ।

बालबालिकाहरुमा कोरोना संक्रमणको दर बढ्न थालेकाले उनीहरुलाई संक्रमणबाट जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने कान्ति बाल अस्पतालका निर्देशक एवं बाल रोग विशेषज्ञ डाक्टर आरपी बिच्छा बताउँछन्।

‘कोरोना संक्रमणबाट हामी सबै मारमा छौं, त्यसैले जनस्वास्थ्यको मापदण्ड अनिवार्य अपनाउन जरुरी छ,’ डा बिच्छाले भने, ‘बालबालिकाहरुमा पनि संक्रमण बढ्न थालेको छ, अब अभिभावकहरुले घरमा आफंैले पनि बालबालिकालाई पनि कोरोनाबाट जोगिन, जनस्वास्थ्यको मापदण्ड पालना गर्ने, खानपानमा ध्यान दिने र बालबालिकाको स्याहारमा विशेष ध्यान दिन जरुरी छ।’

डा बिच्छाले अहिलेको अवस्थामा बालबालिकाहरुलाई भोज–भतेर, पार्टी, तथा घुमफिरका लागि घरबाहिर लिएर नजान पनि सुझाब दिए।

उनले भने, ‘सम्भव भएसम्म अहिले बालबालिकालाई भिडभाड हुने स्थालमा लैजानु हुँदैन, लैजानै पर्ने अवस्थामा सहि तरिकाले मास्क लगाएर उनीहरुलाई भिडभाडबाट जोगाउन जरुरी छ।’

swasthyakhabar.com बाट साभार ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ