खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले पुमा राई र वान्तवा राई भाषामा पठनपाठन सुरु गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४, मातृभाषा शिक्षासम्बन्धी नियम, कानुन र व्यवस्था अनुसार जन्तेढुङ्गा गाउँपालिकाले चालु शैक्षिक–सत्रदेखि स्थानीय भाषाको पाठ्यक्रम अन्तरगत ३६ विद्यालयमा पुमा र वान्तवा भाषामा पठन–पाठन सुरु गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐनमा मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमती, अनुगमन तथा नियमन गर्ने व्यवस्था अनुशार गाउँपालिकाले १८ विद्यालयमा प्राथमिक तह (कक्षा १ देखि ५)सम्म पुमा भाषामा तथा १८ विद्यालयमा वान्तवा भाषामा पठनपाठन सुरु गरेको गाउँपालिकाका सामाजिक बिकास समिति संयोजक एबं वडाध्यक्ष बिदुरमान राईले बताए ।
जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थान, जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी र जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा पुमा तथा जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङ, जन्तेढुङ्गा गाउँपालिका–३ काहुले र जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयका प्राथमिक तहमा वान्तवा भाषामा पठनपाठन सुरु गरिएको हो ।
गाउँकार्यपालिकाको गत मंसिर २५ गतेको बैठकले प्राथमिक तहमा स्थानीय भाषाको पाठ्यक्रम लागू गर्ने तथा पुमा भाषाको पाठ्यक्रम स्विकृत गर्ने निर्णय गरेको थियो । विद्यालयमा ६० प्रतिशत पुमा र वान्तवा भाषा बोल्ने विद्यार्थी अध्ययनरत रहेको तथ्यांकका आधारमा पुमा र वान्तवा भाषाको पाठ्यक्रम लागू गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख नारायणप्रसाद पाण्डेले बताए ।
जन्तेढुङ्गा गाउँपालिका–१ देबिस्थानस्थित शिक्षा निकेतन औतारी माबि, शिक्षा ज्योती माबि देविस्थान चौतारा, सावित्रा आधारभुत विद्यालय पुङ्खानी, शिक्षा सदन जनता आधारभुत विद्यालय र पञ्चकन्य आधारभुत विद्यालयमा पुमा भाषाको पठनपाठन सुरु गरिएको छ ।
यस्तै, जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीकास्थित चिसापानी माबि, बालोद्धय आधारभुत विद्यालय, जनज्योती आधारभुत विद्यालय, जनबहुमुखी प्रावि घोर्ले, पृथ्वी प्रावि, सरस्वती प्रावि, सिंहदेवी प्रावि र वालसेवा आधारभुत विद्यालयमा पुमा भाषाको पाठ्यक्रम लागू गरिएको छ ।
यस्तै, जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङस्थित भानु आधारभुत विद्यालय, पैयाँटार आधारभुत विद्यालय, पृथ्बी आधारभुत विद्यालय, बुढाभैरुङ आधारभुत विद्यालय र सिद्धेश्वरी आधारभुत विद्यालयमा पुमा भाषामा पठनपाठन सुरु गरिएको शिक्षा शाखा प्रमुख पाण्डेले बताए ।
शिक्षा शाखाका अनुशार जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङस्थित सिंहदेवी माबि, जनज्योती आधारभुत विद्यालय, पञ्चकन्य आधारभुत विद्यालय, विजय आधारभुत विद्यालय, शारदा आधारभुत विद्यालय, पञ्चकन्य आधारभुत विद्यालय, चण्डेश्वरी आधारभुत विद्यालय, सिर्जनात्मक आधारभुत विद्यालय र कन्यछाँगा आधारभुत विद्यालयमा वान्तवा भाषाको पढाई सुरु गरिएको छ ।
यस्तै, जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेस्थित लक्ष्मी मावि, जलेश्वरी आधारभुत विद्यालय, आकाशदेबी आधारभुत विद्यालय, सिद्धेश्वरी आधारभुत विद्यालय, जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित जलेश्वरी माबि, बिश्वज्योती आधारभुत विद्यालय, महेन्द्रज्योती आधारभुत विद्यालय, जालपादेबी आधारभुत विद्यालय र पञ्चकन्य आधारभुत विद्यालयमा पनि वान्तवा भाषाको पाठ्क्रम लागू गरिएको जनाइएको छ ।
[रोदिक खबरबाट साभार]