गोरखापत्रमा २०७७ असार र साउन महिनामा प्रकाशित सामान्य ज्ञान सङ्‌गालो – General Knowledge

 

1. लोकसेवा आयोग विधेयक प्रतिनिधिसभाबाट कहिले पारित भएको हो ? – विक्रम संवत् २०७७ असार ९
 २०७५ पुस २४ गते विधेयक प्रतिनिधिसभामा दर्ता भएको थियो ।
 पारित विधेयकअनुसार आयोगले कानुनी रूपमा अब सङ्गठित संस्था, सुरक्षा निकाय र अन्य संस्थाको समेत पदपूर्तिको परीक्षा सञ्चालन गर्ने छ ।
 यस्तै, आयोगले ती निकायको पाठ्यक्रम पनि तयार पार्ने छ । सोही पाठ्यक्रमअनुसार नै लिखित परीक्षा सञ्चालन, आयोगले तोकेको कार्यविधिअनुसार नतिजा प्रकाशनलगायतका काम अगाडि बढ्ने छन् ।
 विधेयकअनुसार अब लोकसेवाले विश्वविद्यालय र शिक्षक सेवा आयोगबाहेकका ५० प्रतिशत वा सो भन्दा बढी सेयर वा जायजेथामा नेपाल सरकारको स्वामित्व रहेको संस्थान, कम्पनी, बैङ्क, समितिको पदपूर्तिका पाठ्यक्रम निर्धारण र परीक्षा सञ्चालन गर्ने छ ।
 यसैगरी, सङ्घीय कानुनबमोजिम स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र अन्य सङ्गठित संस्थाको पनि पदपूर्तिलगायतका काम गर्ने छ ।
 त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागको पनि पाठ्यक्रम निर्धारण तथा परीक्षा सञ्चालन गर्ने छ ।
 विधेयक पारित भएसँगै प्रदेशमा गठित लोकसेवा आयोग पनि क्रियाशील हुनेछन् ।

2. केन्द्रीय तथ्याङ्क विभागको जनसङ्ख्या घडीअनुसार २०७७ असार १२ मा नेपालको जनसङ्ख्या कति पुगेको छ ? – तीन करोड ६३४
 ११औँ राष्ट्रिय जनगणना, २०६८ को वृद्धिदरमा आधारित पूर्वानुमान अनुसार २०७७ असार १२ मा नेपालको जनसङ्ख्या तीन करोड नाघेको ।
 राष्ट्रिय जनगणना २०६८ को जन्मदर, मृत्युदर र बसाइँसराइ दरका आधारमा जनसङ्ख्या पूर्वानुमान गरिएको।

3. सन् २०२० जुनमा सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित हुन सफल राष्ट्र कुन-कुन हुन् ? – भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे
 ती राष्ट्रहरू सन् २०२१-२०२२ को कार्यकालका लागि राष्ट्रसङ्घ महासभाबाट चयन भएका ।
 १ सय ९३ सदस्यीय महासभामा १८४ राष्ट्रले मतदान गरेका थिए ।
 राष्ट्रसङ्घ सुरक्षा परिषदमा स्थायी पाँच र अस्थायी १० गरी कुल १५ सदस्य हुन्छन् ।
 पाँच मुलुकहरू अमेरिका, बेलायत, फ्रान्स, चीन र रूस सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्र हुन् भने बाँकी १० अस्थायी सदस्यहरू निर्वाचनबाट छनोट हुने व्यवस्था छ ।

4. विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा विश्व प्रतिजैविक सचेतना सप्ताह कहिलेदेखि मनाउन थालिएको हो ? -सन् २०१५
 हरेक वर्ष नोभेम्बर महिनामा एक साताभरि प्रतिजैविक सचेतना सप्ताह मनाइँदै आएकोमा सन् २०१९ मा पनि नोभेम्बर १८-२४ सम्म विभिन्न कार्यक्रमहरू गरी सचेतना सप्ताह मनाइएको ।
 जीवाणुहरूले यसरी प्रतिजैविक औषधिहरूविरुद्ध प्रतिरोध विकास गर्नमा चिकित्सक र पशु चिकित्सकहरूको सिफारसविना मानिस र पशुपक्षीहरूमा आवश्यकताभन्दा बढी प्रतिजैविक औषधिहरूको प्रयोग, चाहिने भन्दा कम वा बढी मात्रामा प्रयोग, अस्पतालहरूमा सङ्क्रमण रोकथामसम्बन्धी अपर्याप्त व्यवस्थापन, अस्पतालहरूबाट उत्पादन हुने फोहोरहरूको उचित व्यवस्थापन नहुनु र पछिल्लो ३० वर्षयता कुनै पनि नयाँ समूहका प्रभावकारी प्रतिजैविक औषधिहरू आविष्कार हुन नसक्नु आदि मुख्य कारण रहेका ।
 हाल विश्वभर प्रतिजैविक औषधिहरूले काम नगरेका कारण बर्सेनि सात लाख मानिसको मृत्यु भइरहेको र यदि नियन्त्रणका लागि ठोस कदमहरू नचाल्ने हो भने यो सङ्ख्या बढेर सन् २०५० सम्ममा बर्सेनि एक करोड पुग्ने अनुमान विश्व स्वास्थ्य सङ्गठनले गरेको ।

5. नेपाली पोर्टको शुभारम्भ कहिले भएको हो ? – विसं २०७६ माघ १३
 अध्यागमन सुरक्षा प्रणालीलाई व्यवस्थित गर्नका लागि तयार पारिएको सफ्टवेयरलाई नेपाली पोर्ट भनी चिनिने।
 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १३ अध्यागमन कार्यालयहरूमा यो सफ्टवेयर जडान गरिएको।

6. एसिया सोसाइटीद्वारा प्रदान गरिएको एसिया गेम चेन्जर अफ दी इयरको उपाधिबाट कसलाई सम्मान गरियो ? – मीरा राई

7. प्रदेश १ सरकारले कुन स्थानमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ ? – माईजोगमाई गाउँपालिका-२, इलाम

8. अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ? – जुन २१
 सन् २०१५ बाट संयुक्त राष्ट्रसङ्घले जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेको ।
 नेपालमा माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालिएको ।

9. समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको निधन कहिले भएको हो ? – विसं २०७७ असार ६

10. एक वडा एक व्यायामशाला निर्माणको योजना अघि बढाउने स्थानीय तह कुन हो ? – टोखा नगरपालिका

11. संयुक्त राष्ट्रसङ्घद्वारा नीलो आकाशका लागि सफा हावा दिवस कहिलेमनाउने गरिन्छ ? – सेप्टेम्बर ७ (यो दिवस सन् २०२० देखि मनाउने निर्णय भएको ।)

12. पुतली घर नामक कृतिका लेखक घनश्याम खड्का हुन् भने सयौँ पुतली नामक कृतिका लेखक को हुन् ? – उमा सुवेदी

13. नेपालसँग दोहोरोकर मुक्ति सम्झौता भएका राष्ट्रहरू कति छन् ? – ११ (१. भारत २. चीन ३. बङ्गलादेश ४. श्रीलङ्का ५. पाकिस्तान ६. कतार ७. दक्षिण कोरिया ८. नर्वे ९. थाइल्यान्ड १०. अस्ट्रिया ११. मौरिसस)

14. मलेसियामा सुल्तान अब्दुल्लाह अहमद शाह नयाँ राजाका रूपमा कहिले निर्वाचित हुनुभयो ? – २०१९ जनवरी २४

15. अन्तर्राष्ट्रिय मातृभाषा दिवस कहिले मनाइन्छ ? – फेब्रुअरी २१
 सन् २०२० मा यो दिवस ल्याङ्वेज विथआउट बोर्डर नाराका साथ मनाइएको ।
 यो दिवस सन् २००० देखि मनाउन थालिएको ।)

16. नेपालमा दोस्रो पटक प्रदेश प्रमुखहरूको नियुक्ति कहिले गरियो ? – विसं २०७६ कात्तिक १८

17. हाल नेपाल राष्ट्र बैङ्कको गभर्नरको हुनुहुन्छ ? – महाप्रसाद अधिकारी (मन्त्रिपरिषद्को २०७६ चैत २४ को बैठकले अधिकारीलाई पाँच वर्षका लागि १७औँ गभर्नरका रूपमा नियुक्त गरेको ।

18. लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको निशान छापमा समेट्नेसम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा कहिले प्रमाणीकरण भएको हो ? – विसं २०७७ असार ४

19. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटिएको नयाँ नक्सा कहिले सार्वजनिक गरेको हो ? – विसं २०७७ जेठ ७
 १८१६ मार्च ४ को सुगौली सन्धिअनुसार नेपालले पश्चिम सीमाबिन्दु लिम्पियाधुरासम्मको भूभाग नयाँ नक्सामा समावेश गरिएको ।
 सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा अतिक्रमित भूमि समावेश गरेर नयाँ नक्सा सार्वजनिक गर्ने बताएको।
 २०७७ जेठ ४ मा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको अद्यावधिक नक्सा स्वीकृत गरी लागू गर्ने निर्णय गरेको थियो ।
 भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालद्वारा नेपालको नयाँ नक्सा (राजनीतिक र प्रशासनिक) सार्वजनिक गरिएको ।)

20. सन् २०२० को पुलिटजर पुरस्कार कसलाई प्रदान गरियो ? – अमेरिकी लेखक कोल्सन ह्वाइटहेड

21. कोरोना परीक्षणमा प्रयोग हुने विधि आरडीटीको पूरा रूप र्‍यापिड डाइग्नोस्टिक टेस्ट हो भने पीसीआरको पूरा रूप के हो ? – पोलिमर्स चेन रिएक्सन

22. बाहिरी जीवाणुबाट शरीरलाई बचाउनका लागि प्रयोग गरिने सामग्री पीपीईको पूरा रूप के हो ? – पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (व्यक्तिगत सुरक्षा उपकरण)

23. कोभिड-१९ विरुद्ध अग्रपङ्तिमा खटिएका संसारका उत्कृष्ट पाँच महिलाको सूचीमा पर्न सफल नेपाली चिकित्सक को हुन् ? – डा. रुना झा (निर्देशक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला) (युएन विमेनले उहाँलाई सो सूचीमा समावेश गरेको ।)

24. अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस कहिलेदेखि मनाउन थालिएको हो ? – सन् २००९
 विश्वमै लोपोन्मुख अवस्थामा पुग्न लागेपछि यसको संरक्षणमा सहभागिता जुटाउन गिद्ध सचेतना दिवस मनाउन थालिएको।
 सिनो खाएर वातावरण सफा गर्ने भएकाले गिद्धलाई प्रकृतिको कुचीकार भनी चिनिने ।
 विश्वमा २३ प्रजाति र दक्षिण एसियामा ९ प्रजातिका गिद्ध पाइने ।
 नेपालमा गिद्ध संरक्षणका लागि गिद्धलाई शुद्ध आहारा उपलब्ध गराउन देशभर आधा दर्जनभन्दा बढी स्थानमा जटायु रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको ।

25. नेपाल सरकारले कहिलेदेखि अङ्ग्रेजी भाषासमेत प्रयोग गरी नयाँ ढाँचाको नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ ? – विसं २०६६ मङ्सिर १ गते (यसअघि नेपाली भाषामा मात्र नागरिकता दिइन्थ्यो ।)

26. पर्वतको कुश्मादेखि बागलुङको बलेवा जोड्ने कालीगण्डकी नदीमाथि निर्मित एसियाकै पहिलो तथा विश्वकै दोस्रो अग्लो बन्जी जम्पको उद्घाटन कहिले गरिएको हो ? – विसं २०७६ माघ १६ (सो बन्जीजम्प २२८ मिटर उचाइको रहेको ।)

27. नेपालमा पहिलो पटक राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण कहिले गरियो ? – सन् १९९६

28. नेपालमा चिनियाँ इन्टरनेट कहिलेदेखि सञ्चालनमा आएको हो ? – विसं २०७४ पुस २८
 स्थलमार्गबाट रसुवा हुँदै अप्टिकल फाइवरमार्फत इन्टरनेट कनेक्सन जोडिएको ।
 अब विश्व परिवेशमा नेपालको सूचनामार्ग भारत र चीन दुवै तिरबाट सम्भव भएको ।

29. नेपाल वायुसेवा निगमले इतिहासमै पहिलो पटक वाइडबडी जहाज कहिले भित्राएको हो? – २०७५ असार १४

30. नेपाल-भारत प्रबुद्ध समूहमा नेपालतर्फबाट संयोजकको जिम्मेवारी कसलाई दिइएको हो ? – डा. भेषबहादुर थापा (भारततर्फबाट भगतसिंह कोसियारी)

31. नेपाल न्यून आय भएका मुलुकबाट न्यूनमध्यम आय भएका मुलुकको सूचीमा कहिले स्तरोन्नति भएको हो ? – वि.सं. २०७७ असार १८ (सन् २०२० जुलाई २)
 विश्व बैङ्कले सन् २०२० जुलाई २ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल न्यूनमध्यम आय भएको मुलुकमा फड्को मारेको ।
 विश्व बैङ्कले 1 हजार ३६ डलरदेखि चार हजार ४५ डलरसम्म प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यूनमध्यम आय भएका मुलुकमा वर्गीकरण गरेको ।
 सन् २०१८ मा नेपालको प्रतिव्यक्ति आय ९६० डलर रहेकोमा सन् २०१९ मा 1 हजार ९० डलर पुगेपछि न्यूनमध्यम आयको मुलुक भएको ।
 विश्व बैङ्कले पछिल्लो पटक 1 हजार ३६ डलर भन्दा कम प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून आय, 1 हजार ३६ देखि 4 हजार ४५ डलर प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यूनमध्यम आय, 4 हजार ४६ देखि १२ हजार ५३५ डलर प्रतिव्यक्ति आय भएका मुलुकलाई उच्चमध्यम आय र सो भन्दा माथि आय भएका मुलुकलाई उच्च आय (यद्यपि प्रतिव्यक्ति आयको यो सीमा विभिन्न समयमा फेरिने) भएका मुलुकका रूपमा वर्गीकरण गरेको ।
 दक्षिण एसियाली मुलुकमा माल्दिभ्स उच्चमध्यम आय भएको मुलुकमा परेको ।
 भारत, पाकिस्तान, भुटान र बङ्गलादेश न्यूनमध्यम आय भएका मुलुकमा परेका ।
 दक्षिण एसियाली मुलुकमध्ये अफगानिस्तान मात्र न्यून आय भएका मुलुकमा परेको ।

32. नेपाली शिक्षा परिषद्द्वारा प्रदान गरिने आदिकवि भानुभक्त पुरस्कारबाट सम्मानित (२०७७ मा) स्रष्टा को हुनुहुन्छ? – मुकुन्द शर्मा चालिसे
 1 लाख २५ हजार रुपैयाँ रहेको यो पुरस्कार २०५२ देखि प्रदान गरिँदै आएको ।
 पुरस्कार प्रत्येक वर्ष प्रदान गरिने ।

33. विसं २०७७ मा प्रदान गरिने (नेपाली शिक्षा परिषद्द्वारा) गोपाल पाँडे असिम पुरस्कारबाट सम्मानित व्यक्तित्व को हुनुहुन्छ ? – ज्ञानबहादुर बगाले
 नेपाल बाहिर बसेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा उल्लेखनीय योगदान पुर्‍याउनुहुने म्यान्मार निवासी बगालेलाई सो पुरस्कारबाट सम्मानित गरिएको नेपाली शिक्षा परिषद्ले जनाएको ।
 ५० हजार रुपैयाँ राशी रहेको यो पुरस्कार २०५० सालदेखि प्रदान गरिँदै आएको ।

34. मानव विकास सूचकाङ्कको प्रतिपादन कसले गरेका हुन् ? – अर्थशास्त्री महबुब उल हक

35. आयुर्वेदका प्रवर्तक को हुन् ? – धनवन्तरी
 नेपालमा कार्तिक कृष्ण त्रयोदशीका दिन धनवन्तरी जयन्ती मनाउने गरिएको
 विसं २०५६ देखि धनवन्तरी जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरिएको ।

36. आयुर्वेद कुन वेदको उपवेद हो ? – अथर्ववेद
 विश्वकै प्राचीन चिकित्साविज्ञान आयुर्वेद इशापूर्व 3 हजार देखि ५० हजार वर्ष अगाडि भारतवर्षबाट विकास भएको मानिन्छ ।
 आयुर्वेद उपचार विधिमात्र नभएर मानव जीवनका खानपिन, आहार-विहारलाई निर्दिष्ट गर्ने विज्ञान हो, जसले मानवको शरीर, मन र आत्मालाई स्वस्थ तथा सन्तुलन राख्न जोड दिन्छ ।

37. रूसमा हालै सम्पन्न जनमत सङ्ग्रहमा संवैधानिक सुधारको पक्षमा कति प्रतिशत मत प्राप्त भयो ? – ७७.९२ प्रतिशत (सन् २०२० जुलाई)
 रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अर्को कार्यकाल राष्ट्रपतिको उम्मे दवार हुने गरी मार्ग प्रशस्त गर्न संवैधानिक सुधार सम्बन्धी जनमतसङ्ग्रहमा ठूलो बहुमत प्राप्त भएको ।
 रूसी केन्द्रीय निर्वाचन आयोगकाअनुसार कुल मतदातामध्ये करिब ६५ प्रतिशतले मतदानमा भाग लिएका ।
 राष्ट्रपति पुटिनको वर्तमान कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदैछ । पछिल्लो जनमतसङ्ग्रहले पुटिनलाई अरू दुई कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार हुन मार्ग प्रशस्त गरेको छ ।

38. हाल रेडियो नेपालबाट कति भाषामा समाचार प्रसारण हुने गर्छ ? – २१

39. विसं २०७७ जेठ १५ मा अर्थमन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत बजेटको राशि कति रहे को छ ? – रू. १४ खर्ब ७४ अर्ब ६४ करो ड
 यो बजेट चालु आवको सुरू बजेटको तुलनामा ५८ अर्ब ३२ करोड रुपैयाँले कम रहेको ।
 बजेटमा कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पूर्वाधार विकास तथा स्वास्थ्य सेवा विस्तार, आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना तथा कृषिलाई विशेष प्राथमिकता दिइएको ।
 कुल विनियोजित बजेटमा चालुतर्फ नौ खर्ब ४८ अर्ब ९४ करोड (६४.४ प्रतिशत), पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ९१ करोड (२३.९ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७२ अर्ब ७९ करो ड रुपैयाँ (११.७ प्रतिशत) विनियोजन गरिएको ।
 आव २०७७/०७८ मा सरकारले ८ खर्ब ८९ अर्ब ६२ करो ड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको।
 वैदेशिक ऋणबाट दुई खर्ब ९९ अर्ब ५० करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड रुपैयाँ सङ्कलन गर्ने सरकारी लक्ष्य रहेको ।
 आय राजस्वः ८ खर्ब ८९ अर्ब ६२ करोड (६१ प्रतिशत) वैदेशिक ऋणः २ खर्ब ९९ अर्ब ५० करोड (२० प्रतिशत) आन्तरिक ऋणः २ खर्ब २५ अर्ब (१५ प्रतिशत) वैदेशिक अनुदानः ६० अर्ब ५२ करोड (४ प्रतिशत)
 व्यय चालु खर्चः ९ खर्ब ४८ अर्ब ९४ करोड (६४.४ प्रतिशत) विकास खर्चः ३ खर्ब ५२ अर्ब ९१ करोड (२३.९ प्रतिशत) वित्तीय व्यवस्थापनः १ खर्ब ७२ अर्ब ७९ करोड (११.७ प्रतिशत)
 तहगत सङ्घः ११ खर्ब १२ अर्ब १ करोड (७५ प्रतिशत) प्रदेशः ९९ अर्ब ८७ करोड (७ प्रतिशत) स्थानीय तहः २ खर्ब ६२ अर्ब ७५ करोड (१८ प्रतिशत)
 शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र यातायात पूर्वाधारमा गतवर्ष र यो वर्षको बजेट विनियोजन आ.व. २०७६/७७ आ.व. २०७७/७८ शिक्षा १ खर्ब ६३ अर्ब ७५ करोड १ खर्ब ७२ अर्ब १९ करोड
 स्वास्थ्य ७८ अर्ब ४० करोड १ खर्ब १५ अर्ब ६ करोड
 कृषि तथा वन ७९ अर्ब ८२ करोड ९० अर्ब ६७ करोड
 रोजगार कार्यक्रम ५ अर्ब ३९ करोड ११ अर्ब ६० करोड
 यातायात पूर्वाधार ८५ अर्ब ४७ करोड १ खर्ब ६२ अर्ब ४० करोड
 प्रदेश ९९ अर्ब ८४ करोड ९९ अर्ब ८७ करोड
 स्थानीय तह २ खर्ब १३ अर्ब ८२ करोड २ खर्ब ६२ अर्ब ७५ करोड

40. विश्व बैङ्कद्वारा वि.सं २०७६ कात्तिक ७ मा सार्वजनिक डुइङ बिजनेस प्रतिवेदन २०२० अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ? – ९४औँ
 प्रतिवे दनमा नेपाल १९० देशमध्ये ९४औँ स्थानमा रहेको ।
 सन् २०१९ मा नेपाल ११०औँ स्थानमा थियो।
 विश्व बैङ्कले विभिन्न १० सूचकलाई आधार मानेर स्थिति निर्धारण गरेको ।
 १० सूचकमध्ये ऋण प्राप्तिमा नेपाल ३८औँ, अन्तर देशीय व्यापारमा ६०औँ, साना लगानीकर्ताको सुरक्षामा ७९औँ र समस्या समाधानमा ८७औँ स्थानमा रहेको ।
 प्रतिवेदनअनुसार निर्माण अनुमतिको प्रक्रियामा नेपालले १०७औँ स्थान प्राप्त गरेको।
 सम्झौता कार्यान्वयनसम्बन्धी सूचकमा नेपाल १५१औँ स्थानमा रहेको ।
 व्यवसाय सञ्चालनको वातावरणमा नेपाल दक्षिण एसियाली मुलुकमध्ये तेस्रो स्थानमा रहेको ।
 यो सूचीको सबैभन्दा अगाडि भारत (६३ औँ) र दोस्रोमा भुटान (८९औँ) रहेको।

41. ओपन गभर्नमेन्ट पार्टनरसिप (ओजीपी) अभियान कहिलेदेखि सुरु भएको हो ? – सन् २०११ सेप्टेम्बर (सन् २०११ सेप्टेम्बरमा अमेरिका, मेक्सिको, ब्राजिल, बेलायत, नर्वे, दक्षिण अफ्रिका, फिलिपिन्स र इन्डोनेसियाले यो अभियान सुरु गरेका ।)

42. चीन र दक्षिण एसिया साहित्य सम्मेलन पहिलो पटक कहाँ आयोजना गरियो ? – चीन (सन् २०१७)

43. भारतको मोतिहारीदेखि चितवनको लोथरसम्म खाना पकाउने ग्यास आपूर्तिका लागि पाइपलाइन निर्माण कार्यको थालनी कहिले गरिएको हो ? – विसं २०७६ कात्तिक ९

44. नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) कार्यक्रम प्रसारण गर्नुपर्ने व्यवस्था कहिले भएको हो ? – विसं २०७६ कात्तिक १३

45. पछिल्लो समय पशुपति र स्वयम्भूका बाँदरमा देखापरेको नयाँ ब्याक्टेरिया कुन हो ? – क्याम्पिलो

46. प्रोटोकल १८ के सँग सम्बन्धित छ ? – मानवअधिकार

47. विश्वकै सबैभन्दा अग्लो मूर्ति कहाँ निर्माण गरिएको छ ? – गुजरात, भारत
 उक्त मूर्तिको उचाइ १८२ मिटर रहेको ।
 भारतीय स्वतन्त्रता सेनानी बल्लभ भाइ पटेलको सो मूर्तिलाई द स्टाच्यु अफ युनिटी भनी चिनिने ।
 मूर्तिको उद्घाटन सन् २०१८ अक्टोबर ३१ मा गरिएको ।

48. प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ बाट सम्मानित हुने पहिलो व्यक्तित्व को हुनुहुन्छ ? – डा. सन्दुक रुइत

49. प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटा कहिले निर्विरोध निर्वाचित हुनुभएको हो ? – विसं २०७६ माघ १२
 नेपालमा हालसम्मका आठजना सभामुखः कृष्णप्रसाद भट्टराई, दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा र अग्नि सापकोटा ।

50. सन् २०२० मार्चमा प्रदान गरिएको इन्टरनेसनल कम्युनिकेसन अवार्डबाट सम्मानित व्यक्तित्व को हुनुहुन्छ ? – लक्ष्मणदत्त पन्त

51. बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेसनलको एसिया प्यासिफिक सम्मेलन हालै कहाँ सम्पन्न भयो ? – नेपाल (सन् २०२० मार्च) (एसिया प्यासिफिक क्षेत्रको ४५औँ सम्मेलनमा तीन सय विदेशी पाहुनासहित चार सयजनाको सहभागिता रहेको ।)

52. संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यका लागि सुरक्षाकर्मी पठाउने मुलुकमा नेपाल कतिऔँ स्थानमा रहेको छ ? – चौथो

53. एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाई विश्व कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुन् ? – कुशल मल्ल (कुशलले विसं २०७६ माघ २५ मा अमेरिकाविरुद्धको खेलमा सर्वाधिक कम उमेर (१५ वर्ष ३४० दिन) मा सो रेकर्ड कायम गरेका । नेपालकै अर्का युवा खेलाडी रोहित पौडेलको कीर्तिमान कुशलले भङ्ग गरेका ।)

54. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रविधिमार्फत यात्रुलाई सेवा दिने रोबोट सेवाको उद्घाटन कहिले गरियो ? – विसं २०७६ फागुन ८

55. सबै जिल्लामा स्वास्थ्य बीमा लागू गर्ने पहिलो प्रदेश कुन हो ? – सुदूरपश्चिम प्रदेश

56. लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कहिले देखि सुरु भएको हो ? – सन् १९९१

57. अन्तरीक्षमा सँगै हिँडी कीर्तिमान कायम गर्ने दुई महिला अन्तरीक्ष यात्री को-को हुन् ? – नासाका अन्तरीक्ष यात्री क्रिस्टिना कोक र जेसिका मिअर

58. सन् २०१९/२० को विस्डन क्रिकेटर अफ द इयरको उपाधि जित्ने क्रिकेटर को हुन् ? – इङ्ग्ल्यान्डका अलराउन्डर वेन स्टोक्स
 स्टोक्सले भारतका कप्तान विराट कोहलीको वर्चस्व तोड्दै सो उपाधि हात पारेका ।
 कोहलीले पछिल्ला तीन वर्षदेखि लगातार यो उपाधि जित्दै आएका थिए ।
 गतवर्ष इङ्ग्ल्यान्डलाई पहिलो पटक एक दिवसीय विश्वकप उपाधि दिलाउन स्टोक्सले महत्वपूर्ण भूमिका खेलेका थिए ।
 स्टोक्सले सन् २०२० जनवरीमा आईसीसीले प्रदान गरेको वर्ष खेलाडीको पुरस्कारसमेत जितेका थिए ।
 विश्व क्रिकेटकै सबैभन्दा पुरानो पत्रिका विस्डनले स्टोक्सलाई सम्मान गर्नु पछाडि विश्वकप र एसेजसिरिजमा उनको प्रदर्शनलाई नै आधार मानेको उल्लेख गरेको।

59. अमेरिकी बिजनेस म्यागेजिन फोब्र्सद्वारा सन् २०२० अप्रिलमा सार्वजनिक ३० वर्षमुनिका विश्वका ३० युवाको सूचीमा पर्न सफल ६ नेपाली युवा को-को हुन् ? – प्रतिमा शेर्पा, शुभाङ्गी राणा, जसलिना राणा, रोहित तिवारी, निकिता आचार्य र किरण तिमल्सिना ।

60. विश्वकै दोस्रो अग्लो बन्जी जम्पको निर्माण कहाँ गरिएको छ ? – कुश्मा-बलेवा जोड्ने कालीगण्डकी नदीमाथि निर्मित पुलमा
 पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने पुलमा निर्मित द क्लिफ कुश्मा बन्जी नामक सो बन्जीको सफल परीक्षण विसं २०७६ माघ १६ मा गरिएको।
 नदीदेखि बन्जीको उचाइ २२८ मिटर (७४८ फिट) रहेको।
 विश्वकै अग्लो बन्जी (७६४ फिट) मकाउमा रहेको।

61. नेपालमा पहिलो पटक घण्टाका आधारमा न्यूनतम पारिश्रमिकको प्रावधान कहिलेदेखि लागू गर्ने निर्णय भएको छ? – विसं २०७५ साउन १

62. सरकारले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी)मा कसलाई नियुक्त गर्‍यो ? – शैलेश थापा क्षेत्री ।
 २०७७ असार २३ को मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक थापा क्षेत्रीलाई महानिरीक्षकमा नियुक्त गरेको।
 भक्तपुर सूर्यविनायक नगरपालिका-६, कटुन्जेका थापा क्षेत्री प्रहरी सङ्गठनको २८औँ महानिरीक्षक बन्नुभएको।
 उहाँ २०४९ वैशाख १८ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको ।
 प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली ३० वर्षे सेवा अवाधिका कारण असार २४ बाट अनिवार्य अवकाश पाउनुभएको ।

63. कृषि बालीलाई सर्वाधिक क्षति पुर्‍याउन सक्ने फट्याङ्ग्रा आकारको कीरालाई के भनी चिनिन्छ ? – सलह ।
 २०७७ असार १३ मा नेपालमा सलह कीरा भित्रिएको
 २०७७ वैशाखमा भारतको मध्यप्रदेश, गुजरात, राजस्थानलगायतका राज्यमा सलहले छोटो समयमै ५० हजार हेक्टर भन्दा बढीको बालीमा क्षति पुर्‍याएको थियो। नेपालमा नभित्रिने अनुमान गरिए पनि सलहको प्रवेशले अन्नबालीमा ठूलो क्षति पुर्‍याउने जोखिम बढेको
 मरुभूमिमा पाइने सलहको प्रजाति डेजर्ट लोकस्ट नै हाल पाकिस्तान र भारतमा ठूलो क्षति पुर्‍याउँदै नेपाल प्रवेश गरेको।

64. विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिकाले औपचारिक रूपमै बाहिरिएको घोषणा कहिले गर्‍यो? – सन् २०२० जुलाई ६

65. एन एकाउन्ट अफ किङडम अफ नेपालका लेखक विलियम कर्क पेट्रिक हुन् भने एन एकाउन्ट अफ किङडम अफ हिमालयजका लेखक को हुन् ? – टोनी हेगन ।

66. मनोरम हात्ती छहरा कहाँ रहेको छ ? – दोलखा ।

67. पर्यटक आकर्षित गर्ने उद्देश्यसहित सिटी अन द हिलका रूपमा ब्रान्डिङ गर्न थालिएको नेपालकै पहिलो सहर कुन हो ? – कीर्तिपुर ।
 कीर्तिपुर लाई सिटी अन द हिल अर्थात् पहाडमा रहेको सहरका रूपमा ब्रान्डिङ गर्न थालिएको।
 कुनै पनि सहरको ब्रान्डिङ गरिएको यो नेपालमै पहिलो पटक हो।
 २०७७ असारमा उक्त ब्रान्डको लोगो सार्वजनिक गरिएको।

68. कोभिड-१९ सङ्क्रमितको सघन उपचारमा प्रयोग हुने अत्यावश्यकीय उपकरणहरू सहज र सुलभ तरिकाले उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा हालै सञ्चालनमा ल्याउन थालिएको सेवा कुन हो ? – नेपाल भेन्टिलेटर बैङ्क ।
 परोपकारी संस्थाका रूपमा स्थापित नेपाल भेन्टिलेटरसर्भिस नामक संस्थाले नेपालका सरकारी, सामुदायिक र निजी अस्पतालहरूमा भेन्टिलेटरलगायत सघन उपचारका उपकरण सर्वसुलभ रूपमा उपलब्ध गराउने बताएको
 संस्थाकाअनुसार कोभिड-१९ महामारीको अवस्थामा सरकारसँगको सहकार्य आवश्यक परेका स्थानहरू तथा अस्पतालहरूमा संस्थाका भेन्टिलेटरहरू परिचालन गर्न सकिने गरी संस्थाले समन्वय गर्ने भएको

 संस्थाले हाल वाग्मती प्रदेशमा भेन्टिलेटरलाई केन्द्रित गर्ने र पछि नेपालका सातवटै प्रदेशमा शाखा विस्तार गरी आवश्यक भेन्टिलेटर सोही प्रदेशकै शाखाबाट उपलब्ध गराउने व्यवस्था गरिने जनाएको।

69. खाडी मुलुकमा घरेलु कामदारमा जाने महिलाको उमेर हद कति तोकिएको छ ? – २४ वर्ष ।

70. कोरोना नियन्त्रणका लागि देशव्यापी बन्दाबन्दी गरिएसँगै बन्द गरिएको सार्वजनिक यातायात कहिलेदेखि सञ्चालन गर्न दिने गरी सरकारले निर्णय गर्‍यो ? – विक्रम संवत् २०७७ असार २६ ।
 कोरोना सङ्क्रमणको खतरा कायम रहेकाले सरकारले सिट क्षमताभन्दा आधामात्र यात्रु राखे र यातायात सञ्चालन गर्ने व्यवस्था गरेको।

71. सन् २०२० जुलाई ११ मा मनाइएको विश्व जनसङ्ख्या दिवसको नारा के हो ? – कोभिड-१९ सङ्क्रमणको पूर्ण अन्त्य गरौँ, महिला र किशोरीहरूको स्वास्थ्य र अधिकार सुरक्षित गरौँ ।

72. विश्व सैनिक खेलकुद प्रतियोगिताको सातौँ संस्करण कहिले र कहाँ सम्पन्न भयो ? – सन् २०१९ अक्टोबर १८-२७ (चीनको वुहान) ।
 प्रतियोगितामा ११० मुलुकका ९ हजार ३०८ सैनिक खेलाडीको सहभागिता रहेको।
 २७ खेलमा प्रतिस्पर्धा भएको सो प्रतियोगितामा चीन, रूस र ब्राजिल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका ।
 सो प्रतियोगितामा नेपाल पहिलो पटक सहभागी भएको ।
 खेलकुदको माध्यमबाट विश्व शान्ति स्थापनाको अवधारणाका साथ अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषद्द्वारा विश्व सैनिक खेलकुद प्रतियोगिता आयोजना गरिएको।

73. सन् २०१९ सेप्टेम्बर २० देखि नोभेम्बर २ सम्म योकोहामा (जापान)मा आयोजित विश्वकप रग्वीको उपाधि कसले जित्यो ? – दक्षिण अफ्रिका
 दक्षिण अफ्रिका तेस्रो पटक विश्व च्याम्पियन बनेको
 यसअघि दक्षिण अफ्रिका सन् १९९५ र सन् २००७ मा उपाधि विजेता बनेको
 दक्षिण अफ्रिकाले सर्वाधिक तीनपटक रग्वी विश्व विजेता न्युजिल्यान्डको समकक्षमा आफूलाई उभ्याएको।

74. सन् २०१९ अक्टोबर १७ मा मनाइएको अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको नारा के हो ? – गरिबी निवारणका लागि बालबालिका, उनीहरूको परिवार र समुदा)यको सशक्तीकरणका लागि सहकार्य ।

75. १२४ घण्टा तीस मिनेट निरन्तर पुस्तक पढी विश्व कीर्तिमान कायम गर्ने नेपाली प्रतिभा को हुन् ? – मुकेशराज जोशी
 बझाङका जोशीले २०७६ असोज ५-१० गतेसम्म लगातार ६ दिन पुस्तक पढी सो रेकर्ड राखेका
 यसअघि यो रेकर्ड नाइजेरियाका नागरिकको नाममा रहेको।
 उनले लगातार १ सय २० घण्टा अध्ययन गरी रेकर्ड राखेका थिए ।

76. प्रधानमन्त्री कार्यालय र मन्त्रिपरिषद् सचिवालयलाई एक आपसमा गाभी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कहिले बनाइएको हो ? – विसं २०६० असोज २

77. प्रहरी सङ्गठनमा महत्वपूर्ण योगदान पुर्‍याउने अवकाश प्राप्त प्रहरीलाई दिइने लाइफटाइम एचिभमेन्ट अवार्ड २०७६ कसलाई प्रदान गरियो ? – यादव अधिकारी ।

78. असंलग्न राष्ट्रहरूको १८औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? – सन् २०१९ अक्टोबर २५-२६, अजरवैजानको राजधानी वाकु ।

79. असंलग्न आन्दोलन (नन एलाइनमेन्ट मुभमेन्ट) नामद्वारा कुन वर्षलाई अन्तर्राष्ट्रिय शान्ति तथा विश्वासको वर्षका रूपमा मनाइने भएको छ ? – सन् २०२१

80. नेपाल राजपत्रलाई सरल एवम् सुलभ बनाउन ल्याइएको मोबाइल एप कुन हो ? – नेपाल गजेट ।

81. पाश्चात्य राजनीतिका कौटिल्यका रूपमा कसलाई चिनिन्छ ? – मेकियाबेली ।

82. सन् २०१९ को १००औँ नोवल शान्ति पुरस्कारबाट सम्मानित व्यक्तित्व को हुन् ? – इथियोपियाका प्रधानमन्त्री आबी अहमद अली ।
 शान्ति प्राप्ति एवम् अन्तर्राष्ट्रिय समन्वय जुटाउन उल्लेखनीय भूमिका निर्वाह गरेका कारण उनलाई सो पुरस्कार प्रदान गरिएको ।
 सन् १९९८ देखि २००० सम्म चलेको सीमा युद्धसँगै सुरु भएको २० वर्ष लामो सैनिक गतिरोध अन्त्य गर्दै इथियोपिया र इरिट्रियाबीच सन् २०१८ जुलाईमा शान्ति सम्झौता भएको र त्यसमा आबीको महत्त्वपूर्ण भूमिका रहेको।
 सन् २०१८ अप्रिलमा प्रधानमन्त्री भएयता आबीले इथियोपियामा धेरै सुधारका कार्यहरू गरिसकेका ।

83. माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ? – २१६ मेगावाट ।
 नेपालको जलविद्युत् क्षेत्रमा हालसम्मकै ठूलो परिमाणको प्रत्यक्ष वैदेशिक लगानीका रूपमा लिइएको यो जलविद्युत् आयोजनाका लागि प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी र ऋण लगानी गर्ने नौ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबीच विसं २०७६ कात्तिक १५ मा ५१ अर्ब रुपियाँको लगानी सम्झौता सम्पन्न भएको ।
 सो जलविद्युत् आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीमार्फत वित्तीय व्यवस्थापन गरिने जनाइएको।

84. सरकारले गरिब घर परिवारलाई परिचयपत्र वितरण गर्ने कार्य कहिलेदेखि थालेको हो? – विसं २०७५ असार २९
 कपिलवस्तुको मायादेवी-६, डुमराबाट पहिलो पटक परिचयपत्र वितरण सुरु गरिएको ।
 गरिब घर परिवार सहयोग समन्वय बोर्डले विसं २०७० मा विभिन्न २६ जिल्लामा सर्वेक्षण गरी तथ्याङ्क सङ्कलन गरेको र सोही तथ्याङ्कका आधारमा ती जिल्लामा परिचयपत्र वितरण कार्य अघि बढाइएको ।
 ती जिल्लाका साथै बाँकी जिल्लामा पनि गरिब घर परिवार पहिचान र परिचयपत्र वितरण कार्यलाई जारी राखिने
 पहिचान गरिएका गरिब परिवारलाई गरिबीको अवस्थाअनुसार अति, मध्यम र सामान्य गरिबमा वर्गीकरण गरिएको र प्रत्येकलाई फरक-फरक रङ (क्रमशः रातो, पहेँलो र नीलो) को प्रमाणपत्र दिने व्यवस्था गरिएको

85. कुन भाषालाई ताजपुरी भाषा पनि भनिन्छ ? – राजवंशी

86. कुन हिमाललाई अफ्रिकाको छानो भनेर पनि सम्बोधन गरिन्छ ? – किलिमन्जरो
 अफ्रिकी महादेशको तान्जानियामा अवस्थित यो हिमाल त्यहाँको आकर्षक पर्यटकीय गन्तव्य पनि हो ।
 यो अफ्रिकाको सबैभन्दा अग्लो हिमालका रूपमा रहेको छ ।
 यो हिमाल आरोहण गर्दा विशेष तयारी र हिमाल चढ्दा चाहिने विशेष उपकरणहरू आवश्यक नपर्ने तर उचाइका कारण हुने अल्टिच्युड सिकनेस भने लाग्न सक्छ ।

87. नेपालमा पहिलो पटक सरकारी तवरबाट राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस कहिले मनाइयो ? – विसं २०७५ असार २० ।
 नसर्ने रोगमा प्राकृतिक चिकित्सा भन्ने मूल नारासहित पहिलो पटक सो दिवस मनाइएको ।

88. ० डिग्री देशान्तर रेखालाई प्रधानमध्याह्न रेखा भनिन्छ भने ० डिग्री अक्षांश रेखालाई के भनिन्छ ? – भूमध्यरेखा

89. नेपालले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कुन हो ? – कतार (सन् २००५ अप्रिल २१) ।

90. नेपालमा कृषक परिचयपत्र वितरण गर्ने कार्य कुन जिल्लाबाट सुरु गरिएको हो ? – बाग्लुङ

91. अन्तर्राष्ट्रियस्तरको आइसागो प्रमाणपत्र पाउने नेपालको वायुसेवा कुन हो ? – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम
 निगमले उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ (भूमिसेवा)बापत सो प्रमाणपत्र प्राप्त गरेको

92. नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीद्वारा आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ? – विक्रम संवत् २०७७ साउन २ ।
 कोभिड-१९ को प्रभावबाट अर्थतन्त्रको जोखिम कम गर्ने प्राथमिकतालाई ध्यान दिँदै मौद्रिक नीति सार्वजनिक भएको ।
 आव २०७७/७८ को नेपाल सरकारको बजेटमा व्यवस्था भएबमोजिम स्थापना हुने रु. ५० अर्बको पुनर्कर्जा कोष परिचालनमार्फत निश्चित मापदण्डका आधारमा कोरोना प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यमलगायतका व्यवसायको सञ्चालन एवम् निरन्तरता, ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र अति प्रभावित क्षेत्रका रोजगारी गुम्नेलाई उद्यमशीलता विकासको अवसर दिन बैङ्क तथा वित्तीय संस्थाबाट पाँच प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने मौद्रिक नीतिमा उल्लेख ।
 २०७७ असार महिनासम्म भुक्तानी अवधि भएका डिमान्ड लोन, क्यास क्रेडिटलगायतका अल्पकालीन प्रकृतिका चालु पुँजी कर्जालाई बैङ्क तथा वित्तीय संस्थाले ऋणीको अवस्था विश्लेषण गरी २०७७ पुस मसान्तसम्म भुक्तानी गर्न सकिने गरी नवीकरण गर्न सक्ने व्यवस्था मिलाइने ।
 नयाँ लघुवित्त वित्तीय संस्थाको इजाजत दिने कार्य स्थगन गरिएको ।
 प्रदेशस्तरमा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाले तोकिएको प्रदेशबाहेकका क्षेत्रमा सञ्चालनमा रहेका शाखा कार्यालय बिक्री, बन्द वा स्थानान्तरण गरी आफ्नो सम्पूर्ण कारोबार एउटै प्रदेशमा सीमित गर्नुपर्ने समयसीमा २०७७ असार मसान्तबाट बढाई २०७८ असार मसान्त कायम गरिएको ।
 लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकसँग लिने ब्याजदर अधिकतम १५ प्रतिशत कायम गरिने ।
 बैङ्क तथा वित्तीय संस्थाको पुँजीको आधार दरिलो बनाई जोखिम वहन क्षमता सुदृढ तुल्याउन वाणिज्य बैङ्क आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियालाई थप प्रोत्साहित गरिने ।
 कृषि उत्पादनमा आत्मनिर्भर बनाउन वाणिज्य बैङ्कले २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको ।
 २०८१ असार मसान्तसम्म आफ्नो कुल कर्जा लगानीको न्यूनतम १० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने
 वाणिज्य बैङ्कले २०८१ असार मसान्तसम्म लघु, साना एवम् मझौला उद्यमका क्षेत्रमा १ करोडभन्दा कम रकमका कर्जा आफ्नो कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुने गरी प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको
 भुक्तानी सेवाप्रदायकका रूपमा अनुमति पाएका संस्थाले २०७८ असार मसान्तसम्ममा कम्तीमा ३ लाख ग्राहक नपुर्‍याएमा र मासिक औसत कारोबार सङ्ख्या कम्तीमा ६ लाख नपुगेमा त्यस्ता संस्थाको अनुमति खारेज गर्न सकिने
 मुद्रास्फीति औसत ७ प्रतिशतभित्र सीमित हुने गरी मौद्रिक व्यवस्थापन गरिने भएको ।
93. चौँरी प्रजनन तथा स्रोत केन्द्रको स्थापना कहाँ गरिएको छ ? – भीमेश्वर नपा-१, दोलखा ।
 वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा एक करोड रुपियाँको लागतमा चौँरी प्रजनन तथा स्रोत केन्द्र स्थापना गरिएको ।
 उन्नत जातका चौँरीका बाच्छाबाच्छी उत्पादन गर्ने तथा भविष्यमा याकको वीर्य सङ्कलन गरी कृत्रिम गर्भाधानसमेत गर्ने उद्देश्यसाथ स्रोत केन्द्र स्थापना गरिएको ।

94. “हामी आफ्नो लोभ र मूर्खताका कारण स्वयम्‌लाई नष्ट गर्ने खतरा मोलिरहेका छौँ” भन्ने भनाइ कसको हो ? – स्टेफन हकिङ ।

95. २०७७ सालको डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार कसलाई प्रदान गरियो ? – राष्ट्रिय आविष्कार केन्द्र ।
 त्यस्तै, नमुना सामुदायिक पुस्तकालय स्थापनामार्फत गरेको योगदानको कदर गर्दै रिड नेपालका संस्थापक डा. एन्टोनिया न्युबरलाई डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान गरिएको ।)

96. नेपालमा हाल लागू राष्ट्रिय खनिज नीति कुन हो ? – राष्ट्रिय खनिज नीति-२०७४ ।

97. स्वीस व्यावसायिक विद्यालय इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्ट (आईएमडी) ले सन् २०२० जुलाईमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी प्रतिस्पर्धात्मक वरियतामा प्रथम पाँच स्थानमा रहन सफल राष्ट्र कुन-कुन हुन् ? – क्रमशः सिङ्गापुर, डेनमार्क, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड र हङकङ ।
 सर्वेक्षणअनुसार सिङ्गापुरको अर्थतन्त्र लगातार दोस्रो वर्ष पनि सबै भन्दा प्रतिस्पर्धात्मक बने को ।
 दुई देशबीचको व्यापार युद्धका कारण अमेरिका र चीनको प्रतिस्पर्धात्मक क्षमतामा कमी आएको ।यस वर्ष अमेरिका सात स्थान तल झरेर १०औँ स्थानमा र चीन ६ स्थान तलओर्लिंदै २०औँ स्थानमा पुगेको । सन् २०१८ यता दुवै देश व्यापार युद्धमा मुछिएका ।
 बेलायत सूचीमा ४ स्थान माथि उक्लिँदै १९औँ स्थानमा पुगेको। त्यस्तै, जापान ४ स्थान तल झरेर ३४औँ स्थानमा आउँदा भारत ४३औँ स्थानमा यथावत् रहेको ।

98. २०७७ असार ५ को लगानी बोर्ड बैठकले स्वीकृत गरेको पाँच जलविद्युत् परियोजना कुन-कुन हुन् ? – माथिल्लो मर्स्याङ्दी-२ (३२७ मेगावाट), कालीगण्डकी गर्ज (१६४ मे वा), इसुवाखोला (९७.२ मे वा), म्याग्दीखोला (५७.३ मे वा) र आँखुखोला जलविद्युत् आयोजना (४२.९ मे वा) ।
 बोर्ड बैठकले पाँचवटा जलविद्युत् र दुईवटा सिमेन्टसम्बन्धी परियोजनाको लगानी स्वीकृत गरेको ।
 स्वीकृत परियोजना र लगानी- माथिल्लो मस्याङ्दी- २७८ अर्ब ६५ करोड, कालीगण्डकी गर्ज २८ अर्ब ६ करोड, इसुवाखोला १३ अर्ब ५७ करोड, म्याग्दीखोला १० अर्ब ३१ करोड, आँखुखोला ६ अर्ब ३० करोड दाङ सिमेन्ट इन्डस्ट्रिज ३२ अर्ब ५० करोड, सम्राट सिमेन्ट इन्डस्ट्रिज १५ अर्ब ५ करोड
 बोर्डले स्वीकृत गरेका पाँचवटा जलविद्युत् आयोजनाको उत्पादन क्षमता ६८८.४ मेगावाट रहेको ।

99. बेरुजु फर्छ्योटमा सर्वोत्कृष्ट भई पुरस्कृत हुने स्थानीय तह कुन हो ? – थाहा नपा (मकवानपुर) । (आव २०७५/७६ को लेखा परीक्षणबाट २.५४ प्रतिशत बेरुजु कायम गरी सर्वोत्कृष्ट कार्य गरेको ठहरसहित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थाहा नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको ।)

100. नेपालकै पहिलो फलाम उद्योग “धौवादी फलाम खानी लिमिटेड” को स्थापना कहिले भएको हो ? – विसं २०७६ पुस १६ गते ।
 गण्डकी प्रदेशको नवलपुरस्थित धौवादीमा सो कम्पनी स्थापना गरिएको ।
 मन्त्रिपरिषद्बाट २०७६ भदौ ८ मा निर्णय भएअनुरूप धौवादी फलामखानी स्थापना गरिएको ।
 खानी तथा भूगर्भ विभागद्वारा आव २०६६/६७ मा उक्त फलामखानी पत्ता लगाइएको ।

101. नेपालमा भौगर्भिक अध्ययन एवम् खानी अन्वेषणका लागि सर्वप्रथम नहर तथा जियोलोजी अड्डाको स्थापना कहिले गरियो ? – विसं १९८६ ।
 नहर तथा जियोलोजी अड्डा विसं १९९९ मा खानी अड्डामा रूपान्तरण भएको।
 खानी अड्डालाई विसं २०२४ मा भौगर्भिक सर्वेक्षण विभाग बनाइएको ।
 सो विभागलाई विसं २०३३ मा खानी तथा भूगर्भ विभाग नामकरण गरिएको ।

102. संसद्‌मा राष्ट्रिय मान्यता प्राप्त दल कति रहेका छन् ? – ३ (नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी) । (निर्वाचन आयोगबाट २०७७ असार २४ गते राजनीतिक दलसम्बन्धी ऐन २०७६ को दफा १० को उपदफा (४) बमोजिम राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टी एक आपसमा एकीकरण भई जनता समाजवादी पार्टी नेपाल दल दर्ता भएको ।)

103. राष्ट्रिय बाघ गणना-२०१८ अनुसार नेपालमा बाघको सङ्ख्या कति पुगेको छ ? – २३५ ।
 विसं २०७५ असोज ७ मा सो गणनाको नतिजा सार्वजनिक गरिएको । बाघ गणना सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म सञ्चालन गरिएको ।
 सो गणनाअनुसार विभिन्न निकुञ्जमा रहेका बाघको सङ्ख्या– चितवन रा.नि.-९३, बर्दिया रा.नि.-८७, बाँके रा.नि.-२१, पर्सा रा.नि. – १८, शुक्लाफाँटा रा.नि.- १८

104. ५२ कुटी ७२ कुण्ड भनेर जनकपुर क्षेत्रलाई चिनिन्छ भने ५२ पोखरी ५३ ताल भनी कुनलाई चिनिन्छ ? – रुकुम ।

105. हाल विश्वमा अतिकम विकसित राष्ट्रहरूको सङ्ख्या कति रहेको छ ? – ४७ ।

106. नेपालमा इन्टरनेटको सुरुवात कहिलेदेखि भएको हो ? – सन् १९९४ ।

107. नेपालमा राष्ट्रिय महिला आयोगको गठन कहिले भएको हो ? – विसं २०५८ फागुन २३ ।

108. वेदव्यासको जन्मस्थल एवम् तपोभूमि दमौली (तनहुँ) हो भने पाणिनि ऋषिको जन्मस्थल कहाँ हो ? – पणेना (अर्घाखाँची) ।

109. नेपालमा पहिलो पटक जेनेटिक ल्याब अर्थात् वंशाणुगत प्रयोगशाला कुन अस्पतालमा सञ्चालनमा ल्याइएको हो? – वीर अस्पताल (२०७३ साउन १३) ।
 विश्व स्वस्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको लगानीमा सो ल्याब सञ्चालनमा ल्याइएको ।
 जेनेटिक ल्याब सूक्ष्म तवरले क्रोमोजोमको अध्ययन गर्ने प्रयोगशाला हो ।

110. विश्वको पहिलो महिला राष्ट्रपति को हुन् ? – इसाबेल पेरोन, अर्जेन्टिना ।

111. नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा राष्ट्रिय युवा परिषद्को सहकार्यमा पहिलो राष्ट्रिय गजल महोत्सव कहिले आयोजना गरियो? – विसं २०७६ माघ १५-१६। (पहिलो पटक आयोजित राष्ट्रियस्तरको गजल महोत्सवले पाँचबुँदे घोषणापत्र जारी गरेको ।)

112. रामसार सूचीमा सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्र कुन हो ? – कोशी टप्पु (सन् १९८७) ।
 अन्तर्राष्ट्रिय महत्त्व बोकेको सिमसार क्षेत्रलाई संरक्षण गर्न रामसार सहरमा भएको महासन्धिलाई रामसार महासन्धिको नाम दिइएको ।
 महासन्धि सन् १९७१ मा भएको ।
 कोशी टप्पुलाई रामसारमा सूचीकृत गर्ने सफलतासँगै नेपाल सो महासन्धिको पक्षराष्ट्र बनेको।
 सन् २०१६ मा पोखरा उपत्यकाका विभिन्न ताल क्लस्टरलाई रामसार सूचीमा सूचीकृत गरिएसँगै नेपालका १० सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत भएका ।

113. नेपालको अध्यागमन सुरक्षा प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन विकास गरिएको नेपालीपोर्टको शुभारम्भ कहिले गरिएको हो ? – विसं २०७६ माघ १३ ।(त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १३ वटा अध्यागमन कार्यालयमा जडान गरिएको बायोमेट्रिक्स नेपालीपोर्ट सूचना तथा सुरक्षा प्रणालीबाट भौतिक सुधार सहितको अत्याधुनिक अध्यागमन सेवा प्रदान गर्न सकिने विश्वास गरिएको।)

114. नेपालमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्ने वाणिज्य बैङ्क कुन हो ? – नबिल बैङ्क । (बैङ्कले २०७४ भदौ २३ मा यो सेवाको सुरुवात गरेको ।)

115. सेता रक्तकोष आवश्यकभन्दा बढी भएमा कुन रो ग लाग्दछ ? – ल्युकेमिया ।

116. रोमको एउटा फूल र पेरिसको एउटा काँडाका लेखक को हुन् ? – लैनसिंह बाङ्देल ।

117. विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको संरक्षणका लागि सरकारद्वारा घोषित पाँचवर्षे योजनाको अवधि कुन हो ? – सन् २०१७-२०२१ ।

118. बौद्ध धर्मसँग सम्बन्धित प्रमुख चार धाम कुन-कुन हुन् ? – लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर।

119. जैविक विविधता शैक्षिक उद्यानको स्थापना कहाँ गरिएको छ ? – ललितपुर (विसं २०७३ असोज ३) ।

120. कछुवा संरक्षण केन्द्र कहाँ रहेको छ ? – झापाको सुखानी सिमसार क्षेत्र ।

121. प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम कहाँ स्थापना हुने भएको छ ? – पाँचखाल । (पाँचखाल नगरपालिका वडा नं. ७ मा प्रथम हरित महिला उद्यमी औद्योगिक ग्राम स्थापना गरिने भएको।)

(सामग्री साभार गोरखापत्र दैनिक (२०७७ असार र साउन अंकबाट) । गोरखापत्र दैनिकमा प्रसतुतकर्ता- टंक केसी । वहाँलाई पनि धन्यवाद ।)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ