• गणेश पुमा चिन्तन

एकाबिहानै

विशाल चाहना र मिठो सपना बोकेर

गाउँ छोडेँ

तिमी र छोरोलाई एकसरो कपडा

फेरौं भनेर

ऋण काँढेर हिंडेँ

पैसा कमाई फर्कौंला

रोगी बाबाको उपचार गरी

स्वस्थ बनाउँला भनेर हिंडेँ

तर म,

आफ्नै सपनामा फसेँ

आफ्नै चाहनामा फसेँ

सपना त डुबे नै

आफ्नै जीवन उल्झनमा पर्‍यो प्रिया

श्रमको उचित मूल्य नपाएर

सोंचे जस्तो सहज भएन प्रियाँ पैसा कमाउन

निरन्तर श्रम बेच्दा पनि

श्रमको मूल्य नमिल्दा

पैसा कमिएन प्रिया

एकसरो कपडा फेर्ने सपना

अनि

बाबाको उपचार गर्ने सपना

सपना नै रह्यो

म आउन त पाइनँ

एक दुई कन्चा रकम पठाउन समेत सकिनँ

तिम्रो एकसरो कपडामा कलेटी पर्दै गर्दा

अर्को फेर्ने च्यातिएको बेला

चाँडपर्वमा छोरोले नयाँ नाना

लगाउने रहर गर्दैगर्दा पनि

केवल एकसरो कपडा

ल्याइदिन सकिनँ प्रिया

म विवश छु आउन पाइनँ

त्यैमाथि पनि

कोरोनाले

सबै काम बन्द भो

काम न दामको अवस्थामा

खाने र बाँच्ने टुङ्गो भएन

खाली हातै पनि गाउँ आउन मन छ प्रिया

तर पाइनँ

टुहुरो, निम्छरो र अपराधी जस्तै

लाचार महसुस गरें आफूलाई आज

सोंच्दैछु

दु:खसुखमा गाउँ नै रहेछ साथी

चाँडपर्वमा सबै रमाउँदा पनि

तिमी र छोराको खुसी बनेर

आउन पाइनँ प्रिया

माफ गर

तिम्रो चोखो मायाको पाप नलागोस्

मैले श्रम मजदुरी गरेर

तिम्रो खुसी ल्याउन सकिन

अर्को वर्ष हामी सँगै बसेर

खोले सिस्नु खाएरै पनि

सुखदु:ख बाँडौला

यो वर्ष

म आउन पाइनँ प्रिया आफ्नै घर ।

नयाँ बानेश्‍वर, काठमाडौं‌ ।

ganeshchintan@gmail.com

जवाफ लेख्नुहोस्