हृदयभित्र लुकेका तरङ्‌ग लोकार्पण

गतिविधि फोटो फिचर

३१ जेठ, काठमाडौं । साहित्यकार उत्र शेर राई उर्फ US Tiger को आत्मकथा “हृदयभित्र लुकेका तरङ्‌ग सार्वजिनक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री भुपाल राई, प्रा.डा. विष्णु एस राई, मुन्दुम अध्येता भोगीराज चाम्लिङ, रिङालुङ्छा समाजका अध्यक्ष महेन्द्र बहादुर राई लगायतले शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नु भएको हो।

कार्यक्रमका विशिष्ट अतिथि भोगीराज चाम्लिङले लाहुरे लेखकहरूले लेख्नु भएका कृतिहरूमध्ये यो पुस्तक फरक रहेको कुरा बताउनु भयो । नेपालमा शिक्षाको चेतना लाहुरेहरूले नै भित्राएको कुरामा जोड दिदै लाहुरेहरूमा शिक्षा र चेतना नभइदिएको भए २००७ सालको क्रान्तिले त्यति सजिलै सफलता पाउने थिएन र नेपालमा प्रजातन्त्रको आगमनमा पनि बिलम्ब हुने थियो भन्नेकुरा व्यक्त गर्नुभयो । यस पुस्तकको प्रकाशनले आगामी भावी पुस्तालाई लाहुरे जीवनको वास्तविक कथा र व्यथा ज्ञात गराउने कुरा उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि प्रा.डा. विष्णु एस राईले हृदयभित्र लुकेका तरङ्‌गले पाठकको मनलाई बाँधिराख्ने कुरा व्यक्त गर्नुभयो । उहाँले आत्मकथाको प्रस्तुतीकरण, शब्द शिल्पी मिलेको कुरा व्यक्त गर्दै लेखकको साहित्यिक यात्रा राम्रो रहेको कुरा बताउनु भयो । धेरै लाहुरेहरूले लेख्नु भएको पुस्तक भन्दा यो पुस्तक पृथक रहेको कुरा टिप्पणी गर्दै पुस्तकले पाठकको साहित्यिक खुराक राम्रोसँग मेट्ने कुरा समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि श्री भुपाल राईले लाहुरे समुदायमा समेत लेख्य परम्पराको विकास भएकोमा खुसी व्यक्त गर्दै समाज विकासमा लाहुरेहरूको योगदान उल्लेख्य रहेको बताउनु भयो । लाहुरेहरू बुद्धिजिबी मात्र होइनन् समाज रुपान्तरणको अग्रपङ्‌तिमा रहेका पथ प्रदर्शक समेत रहेक कुरा बताउनुभयो । उहाँले लाहुरेहरूको ज्ञान र सीपलाई उपयोग गर्दै समाज र राष्ट्रलाई अग्रगामी कदम दिन सकिने कुरा व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा रिङालुङ्छा समाजका अध्यक्ष महेन्द्र बहादुर राईले हृदयभित्र लुकेका तरङ्‌ग जस्तो ऐतिहासिक पुस्तक प्रकाशन गर्न पाउँदा संस्था हर्षित भएको कुरा बताउनु भयो । उहाँले रिङालुङ्‌छाको वंशमा एकजना उत्कृष्ठ लेखकको औपचारिक उदय भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

वक्ताहरूले लेखकको लेखनशैली तथा विषयवस्तुको दुरुस्तै प्रस्तुतीकरण दिने लेखनसीप रहेको भन्दै कृति तथा लेखकको प्रगतिको कामना समेत गर्नुभयो ।

पुस्तकका लेखक उत्र शेर राईले जीवनमा भोगेका कुराहरूलाई हुबहु जस्ताको त्यस्तै प्रस्तुत गरेको कुरा व्यक्त गर्नुभयो । लेखकले पुस्तकभित्रका केही कथाका सारांश अभिव्यक्त गर्दै पुस्तकले भावी युवाहरूलाई लाहुरे हुनु अगावै लाहुरे जीवनको आरोह अवरोहको बारेमा जानकारी दिने कुरा बताउनुभयो ।

रिङालुङ्छा समाजद्वारा प्रकाशित सो पुस्तकको विमोचन कार्यक्रम दिनेश राई र बुङातुङ चाम्लिङले सञ्चालन गर्नु भएको थियो ।

जवाफ लेख्नुहोस्