काठमाडौं। किरात पुमा राई तुप्खाबाङ्खालाले काठमाडौंमा छलफल कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको गतिविधि, पाठ्यपुस्तक निर्माण, बुङ्वाफोप पत्रिकाको नियमित प्रकाशन, पुमाराई डट ओआरजीको नियमित अपडेट आदि विषयका बारेमा छलफल कार्यक्रम सञ्चालन भएको हो।
संस्थाका उपाध्यक्ष श्री श्रीकुमार पुमा राईले संस्थाका गतिविधिका बारे जानकारी दिनुभयो । कार्यक्रममा जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष श्री अरुणादेवी राई, किरात पुमा राई तुप्खाबाङ्खाला बेलायतका सल्लाहकारद्वय श्री शिवधन पुमा राई र रिटायर्ड मेजर भुपजित राई, रकोङ थाक्लोक तथा एलके खोजका संस्थापक सारदन पुमा राई, किरात पुमा राई तुप्खाबाङ्खाला हङकङका अध्यक्ष तथा खोटाङ सेवा समाज हङकङका अध्यक्ष पेङ किरात, भाषा प्रशिक्षक प्रताप पुमा राई लगायतले मन्तव्य व्यक्त गर्नुभयो।
कार्यक्रममा जन्तेढुङ्गा गाउँपालिका हुँदै मुन्धुम पदमार्गको विस्तार, पुमा खिम निर्माण, साकेला थानको संरक्षण र सम्वर्द्धन, अर्गानिक जडिबुटीको व्यवसायिक उत्पादन र प्रयोग लगायत समग्र गाउँपालकाको उन्नति र विकासका विषयहरूमा समेत छलफल भयो।
संस्थाको केन्द्रीय कार्य समितिका अधिकांश पदाधिकारीहरू संलग्न सो कार्यक्रम संस्थाका केन्द्रीय अध्यक्ष श्री भुपेन्द्र पुमा राईको अध्यक्षतामा सम्पन्न भएको हो।