काठमाडौं । पुमा राई भाषाको पाठ्यक्रम/पाठ्यपुस्तक निर्माण कार्य द्रुत गतिमा भइरहेको छ । किरात पुमा राई तुप्खाबाङ्‌खालाको अग्रसरतामा सो कार्य सुरु भएको हो । गत महिना खड्‌ग पुमा राईको संयोजकत्वमा पुमा राई पाठ्यक्रम/पाठ्यपुस्तक निर्माण प्राविधिक समिति गठन गरिएपछि पाठ्यक्रम/पाठ्यपुस्तक निर्माण कार्यले मूर्त रुप लिएको हो ।

स्थानीय तहले कक्षा एकदेखि पाँचसम्म स्थानीय विषयवस्तु समेटी पाठ्यक्रम/पाठ्यपुस्तक निर्माण गरी पठनपाठन गर्न गराउन सक्ने प्रावधान नेपाल सरकारले ल्याएपछि लोपोन्मुख रहेका भाषिक समुदाय अग्रसर भएको देखिन्छ । 

पुमा राई भाषा पूर्वी नेपालमा बोलिने भोट-बर्मेली भाषा परिवारको एक लोपोन्मुख भाषा हो । त्रिभुवन विश्वविद्यालय र जर्मनीको लाइप्चिख् युनिभर्सिटीले सन् २००८ देखि ५ वर्ष लगाएर पुमा भाषामा विस्तृत अध्ययन अनुसन्धान गरिसकेकको छ । यस अनुसन्धान परियोजनाले पुमा भाषाको व्याकरण र शब्दकोश निर्माण गरिसकेकोले पाठ्यक्रम/पाठ्यपुस्तक निर्माण कार्य सहज भएको समिति संयोजक राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ- ‘यद्यपि पुमा भाषाको शब्द निर्माण प्रक्रिया र वाक्य संरचना विशिष्ट र फरक रहेकोले पाठ्यक्रम/पाठ्यपुस्तक निर्माण कार्य चुनैतीपूर्ण रहेको छ । फरक बोबी र थुममा बोलिने शैली र संस्कारले यस कार्यलाई थप कठिन बनाउन खोजेको छ । तर सबै बोबी र थुमका समुदायलाई समेट्ने गरी पाठ्यक्रम/पाठ्यपुस्तक निर्माण गर्ने कार्य भइरहेको छ ।’

भाषाविद् तथा अन्य भाषाविज्ञहरूको सल्लाह र सुझाबअनुसार पुस्तकलाई सरल र स्तरीय बनाउन खोजिएको संयोजक राई बताउनुहुन्छ । भाषाको क्षेत्रीय भेदमा एक रुपता ल्याउने तर सबै समुदायमा सबैले बोल्ने भेदहरूलाई समेट्ने समितिको भनाइ छ । तर पुमा भाषामा घुस्न खोजेका अन्य भाषाका शब्द र वाक्य संरचनाबाट पाठ्यक्रम/पाठ्यपुस्तकलाई टाढै राखिने समितिका सदस्यहरूको भनाई रहेको छ ।

राष्ट्रिय जनगणना, २०६८ ले पुमा भाषीको जनसङ्ख्या करिब सात हजारको हाराहारीमा देखाए पनि सम्बन्धित समुदायले यो सङ्ख्या बढी हुनुपर्ने बताउँछन् । गैरपुमा तथ्याङ्‍क सङ्‍कलकहरूले पुमा राईहरूको तथ्याङ्‍क संकलन गर्दा आफूखुसी भाषामा नेपाली र धर्ममा हिन्दू लेखिदिने गर्नाले मिथ्याङ्‍क सङ्‍कलन हुने गरेकोले सो समुदायले राष्ट्रिय जनगणनाको तौरतरिका प्रति पनि अविश्वास र विमती राख्दै आएका छन् ।

पुमा राई पाठ्यक्रम/पाठ्यपुस्तक निर्माण प्राविधिक समितले अहिले कक्षा १ को पाठ्यपुस्तक तयार गरिरहेको हो । यस समितिमा सम्झना पुमा, खगिन्द्र (पुनम) पुमा, परशु पुमा, सजनकुमार पुमा, धनबहादुर पुमा, गणेश पुमा चिन्तन सदस्य रहेका छन् ।

पुस्तकको डिजाइनिङ् र सेटिङ् कार्य सम्पन्न भई हाल रुजु, परिमार्जन तथा सम्पादनको कार्य द्रूत गतिमा भइरहेको छ, समिति बताउँछ । खोटाङ् जिल्लाको जन्तेढुङ्‍गा, बराहपोखरीलगायत उदयपुरका चौदण्डीगढी जस्ता पुमा बाहुल्यता रहेको स्थानीय तहका विद्यालयहरूमा यसै शैक्षिक सत्रबाट पढाई सुरु गर्ने योजना रहेको किरात पुमा राई तुप्खाबाङ्‍खालाका अध्यक्ष भुपेन्द्र पुमा राईले बताउनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ