विवश परदेशी जीवन

कविता फोटो फिचर
  • गणेश पुमा चिन्तन

ऋतुहरु फेरिदै फेरिदै
अर्को शरद आइपुग्दा
बारीका कान्लाकान्ला, आँगनको डिल डिल
सयपत्री, मखमली ढकमक्क फुलेको
हावाको सुसेलीमा लहराउँदै पुष्पगुच्छाहरु
परदेशिएको कान्छोलाई
आउ ए कान्छा आउ भनी
गाउँभरि सुबास छरेर निम्तो दिइरहेको पल
म परदेशको तातो घाममा राँपिएर
खलखली पसिना चुहाएर, फलाम पग्लने तापमा
कोमल मनको कुनाकुना
गाउँवेशीको माया बोकेर
मखमली, सयपत्रीको निम्तोलाई
आँसुका ढिक्का ढिक्कामा तिलाञ्जली दिदै
मुटुलाई पत्थर भन्दा कठोर बनाउन बाध्य म
बैनीको भाइटिकामा घर पुग्न असमर्थ छु ।
अभावमा पिल्सिएको वास्तविकतालाई
निकास दिने अजङ्गको सपना साकार पार्ने
गुलिया मिठा मनलाई तानतुन पारेर
आशाको त्यान्द्रो मस्तिष्कमा अल्झाएर
सात समुद्रपारको यात्रा तय गर्न विवश म
भाइटिकासँगै गुञ्जिएका मादल, बाँसुरी, मुर्चुङ्गाको
सुरिलो र कर्णप्रिय धुनलाई
मनभित्र अनन्य सँगालेर
बैनीको हात खाली राख्न विवश म
वर्षौंपछिको साकेन्वामा पनि
ठोल, झ्याम्टा बजाउँदै
आगनभरि घुमीघुमी नाँच्न
आइपुग्न सकिन
सोइ ठोले सोइको सुमधुर
आवाज कानभरि गुञ्जिएको अनुभूति गर्दै
निरस र विवश मेरो जिन्दगी
तातो तावामा सेक्न बाँध्य छु
रापिलो झिरमा उनेर ।

‍+++  +++  +++

लेखनकाल: २०७०।०६।११

 

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ