- श्रीकुमार पुमा राई
परिचय
सामान्य अर्थमा जनसंख्याले मानिसको कुल संख्यालाई जनाउँछ । तर विशेष अर्थमा जनसंख्या भन्नाले कुनै निश्चित भूगोल भित्रको कुनै निश्चित समय सीमाभित्र गनिएका वा गिन्ति गरिएका कूल मानिसहरूको संख्या भन्ने बुझिन्छ । त्यसैले नेपालले निश्चित भुगोल र २०६८ ले जनगणना गर्ने तोकिएको समयावधि भन्ने बुझिन्छ ।
नेपालमा जनगणना वि.सं. १९६८ सालदेखि सामान्यतः प्रत्येक १०÷१० वर्षमा गर्ने गरिएको पाइन्छ । यस अर्थमा जनगणना २०६८ एघारौं जनगणना हो । यसको स्थलगत मुख्य विवरण संकलन २०६८ सालको असार महिनाको ३ गतेदेखि १३ गतेसम्म जम्मा ११ दिनमा गरिएको हो । जनगणनाको विवरण संकलन, प्रशोधन तथा प्रकाशन नेपाल सरकारको तर्फबाट राष्ट्रिय योजना आयोगको सचिवालय अन्तर्गतको केन्द्रीय तथ्याङ्क विभागले गर्ने गर्दछ । त्यसैले यस लेखमा साभार गरिएका सम्पूर्ण तथ्याङ्कहरूको श्रोतहरू केन्द्रीय तथ्याङ्क विभागकै प्रकाशनहरू हुन् । खालि राष्ट्रिय रुपमा प्रकाशित भएका विस्तृत तथ्याङ्कलाई पुमा राई भाषालाई मातृभाषाको रुपमा लेखाउनेहरूको देशभरीको तथ्याङ्क यहाँ प्रस्तुत गरिएको छ ।
नेपालमा पाइने चार भाषिक परिवार मध्ये भोट बर्मेली परिवारमा पर्ने मध्य किराती पुमा भाषा पुमा राईहरूले बोल्दछन् । नेपाल सरकारले पुमा राई भाषालाई अति लोपोन्मुख भाषाको सूचीमा राखेको छ । त्यसै गरी किरात राई यायोक्खाले लोपोन्मुख, लेख्य परम्परा नभएको राई भाषाको रुपमा सूचीकृत गरेको छ ।
पुमा राईहरू आफुलाई रकोङ, रोकोङ, रोखुङ तथा रोकुङ भन्न रुचाउँछन् । उनीहरूले बोल्ने भाषालाई पुमा ला, पुमा पिमा पनि भनिन्छ भने आफ्नो भाषामा उनीहरू रकोङला, रोकोङला, वा रोकुङ्ला भन्दछन् । स्थानीय ठाउहरूको कतिपय नामहरू यसै भाषाबाट राखिएको पाइन्छ । जस्तैः— दिप्लुङ्ग(छोप्नेढुङ्गा), ओक्वारीतोङ्ग(मौवाबोटे), चाभालोक्खा(बाघ समाउने स्थान), बाखोपतान, तामदुङ्ग, बङ्शिला, बुतवा (बुयटार), राङ्गभाङ्गे, तिरीतोङ्ग, रोङ्गरुम (निगालबास), बुकुला, पायोङ आदि ।
नेपालभर बस्ने पुमा राई मातृभाषीहरूको जनसंख्या
मातृभाषा भनेको आफ्नो आमाले चलन चल्तीमा बोल्ने भाषा जुन कुनै पनि बाल–बालिकाले पहिलो बोलीमै सिक्दछ भन्ने बुझिन्छ । मातृभाषालाई पहिलो भाषाको रुपमा पनि बुझ्ने गरिन्छ । पुमा भाषालाई मातृभाषाको रुपमा लेखाउने मानिसहरूको संख्यात्मक विवरण निम्न अनुसार रहेको छ । यस लेखले मातृभाषाको महलमा पुमा बाहेक अन्य भाषा लेखाउने पुमा राईहरूको संख्या प्रतिनिधित्व गर्दैन भने गैह्र पुमा राई भए पनि मातृभाषामा पुमा लेखाउनेको संख्या भने यसमा समावेश गर्दैन । तसर्थ नेपाल भरमा जम्मा कति संख्यामा पुमा राईहरू छन् भन्ने तथ्यांक यसले प्रतिनिधित्व गर्दैन ।
तालिका नं. १
क्र.सं. क्षेत्र विवरण सङ्ख्या जम्मा प्रतिशत
1 ग्रामीण/सहरी सहरी 188 6686 2.81
ग्रामीण 6498 97.19
2 भौगोलिक क्षेत्र हिमाल 50 6686 0.75
पहाड 6320 94.53
तराई 316 4.72
3 विकास क्षेत्र पूर्वाञ्चल 6643 6686 99.35
मध्यमाञ्चल 34 0.5
पश्चिमाञ्चल 9 0.15
मध्यपश्चिमाञ्चल 0 0
सुदूर पश्चिमाञ्चल 0 0
स्रोत: केन्द्रीय तथ्याङ्क विभाग ।
माथिको तालिका नं. १ को क्र.सं. १ बमोजिम पुमा मातभाषा बोल्ने अधिकांश मानिसहरू ९७.१९ प्रतिशत रहन्छन् । जसले उनीहरूको शहरको पहुँचभन्दा टाढा छन् भन्ने देखाउँछ । जम्मा १८८ जना अर्थात् २.८१ प्रतिशत शहरमा बस्ने (जसमा ६ महिनाभन्दा बढी अध्धयन, रोजगारीको सिलसिलामा समेत बस्ने)हरूले पुमा राई भाषालाई मातृभाषाको रुपमा बोल्दा रहेछन् । त्यसैगरी अधिकांश पुमा मातृभाषीहरूको बसोबास पहाडी क्षेत्रमा रहेको देखिन्छ । पुमा राईहरूको बसोबास क्षेत्र तराईसँग नजिक रहेपनि उनीहरूको तराईसँग पहुँच निकै गाह्रो देखाउँछ । त्यस्तैं पूर्वाञ्चलमै जम्मा ९९.३५ प्रतिशत पुमा भाषीहरू देखिएकोले काठमाडौं लगायतका अन्य क्षेत्रमा उनीहरूको बसोबास शून्यप्रायः नै छ । तर कटारी र बेल्टार–बसाहा नगरपालिका कार्यान्वयनमा आईसकेकाले पहिलेका ति गा.वि.स.हरूका कुल जनसंख्या ६९५ जना शहरमा बस्ने जनसंख्यामा थपिएका छन् ।
जिल्लागत रुपमा पुमा मातृभाषीहरूको जनसंख्या
नेपालका जम्मा ७५ वटा जिल्लाहरू मध्ये १० वटा जिल्लामा पुमा राई भाषालाई मातृभाषाको रुपमा बोल्नेहरूको बसोबास रहेको देखिन्छ । जसलाई तालिका नं. २ मा प्रस्तुत गरिएको छ ।
तालिका नं. २
क्र.सं. | जिल्ला | जनसङ्ख्या | पुरूष | महिला |
---|---|---|---|---|
1 | पाँचथर | 13 | 5 | 8 |
2 | इलाम | 73 | 40 | 33 |
3 | झापा | 58 | 28 | 30 |
4 | मोरङ | 68 | 35 | 33 |
5 | सुनसरी | 187 | 93 | 94 |
6 | सङ्खुवासभा | 38 | 19 | 19 |
7 | ओखलढुङ्गा | 63 | 31 | 32 |
8 | खोटाङ | 4498 | 2155 | 2343 |
9 | उदयपुर | 1624 | 742 | 882 |
10 | ललितपुर | 24 | 7 | 17 |
स्रोत: केन्द्रीय तथ्याङ्क विभाग ।
तालिका नं. २ अनुसार पुमा राई भाषालाई मातृभाषाको रुपमा बोल्नेहरू सबैभन्दा बढी खोटाङ जिल्लामा जम्मा ४,४९८ रहेको छ । त्यसपछि उदयपुर जिल्लामा १,६२४ जनाले पुमा राई भाषालाई मातृभाषा लेखाएको देखिन्छ । धनकुटामा पुमा राईहरू प्रशस्तैं भए पनि उनीहरूले पुमा राई भाषालाई मातृभाषाको रुपमा प्रयोग नगरेको स्पष्ट देखिन्छ ।
खोटाङ जिल्लाको गा.वि.स.गत पुमा मातृभाषीहरूको संख्या
आफ्नो पुख्र्यौलीथलो खोटाङलाई मान्ने पुमा राईहरू खोटाङ विभिन्न ११ गा.वि.स.हरूमा बसोबास गर्ने गरेको देखिन्छ ।
तालिका नं. ३
क्र.सं. | गाविस | जम्मा जनसङ्ख्या | पुमा मातृभाषीहरू | कैफियत | ||
---|---|---|---|---|---|---|
जम्मा | पुरूष | महिला | ||||
1 | अर्खौंले | 3344 | 109 | 55 | 54 | ह.तु.न.पा. |
2 | चिसापानी | 4422 | 424 | 214 | 210 | जन्तेढुङ्गा गापा |
3 | देवीस्थान | 2161 | 579 | 277 | 302 | |
4 | दिप्लुङ | 1878 | 1168 | 563 | 605 | |
5 | बोपुङ | 2555 | 103 | 55 | 48 | |
6 | बराहपोखरी | 3830 | 14 | 3 | 11 | बराहपोखरी गापा |
7 | फाक्टाङ | 2176 | 245 | 111 | 134 | |
8 | मौवाबोटे | 1410 | 1052 | 495 | 557 | |
9 | पौवासेरा | 2355 | 657 | 321 | 336 | |
10 | सुन्तले | 2195 | 88 | 40 | 48 | |
11 | सल्ले | 1507 | 14 | 5 | 9 | ह.तु.न.पा. |
स्रोत: केन्द्रीय तथ्याङ्क विभाग ।
खोटाङ जिल्लाको विभिन्न ११ गा.वि.स.हरूमा विभिन्न ११ गा.वि.स.हरूमा पुमा भाषा मातृ भाषा बोलिए पनि दिप्लुङ र मौवाबोटे गा.वि.स.मा मात्र बहुुसंख्यकले बोल्ने गरेको देखियो । पहिले मौवाबोटे पनि दिप्लुङ गा.वि.स.मै रहेको थियो । यसो हुँदा दिप्लुङ गा.वि.स. नै पुमा राई भाषीहरूको मुल थलो थियो । त्यसैले पहिले पहिले पुमा भाषालाई दिप्लुङ्गे भाषा पनि भन्ने गर्दथे । अर्खौले र सल्ले गा.वि.स.हरूमा कसरी पुमा राई भाषीहरू रहन गए भन्ने जिज्ञासा यस तथ्यांकले उठाईदिन्छ । किनकी यी गा.वि.स.हरूमा पुमा भाषीहरूको बसोबास सम्बन्धी अहिलेसम्म कुनै जानकारी यस लेखकलाई छैन ।
उदयपुर जिल्लाको गा.वि.स.गत पुमा मातृभाषीहरूको संख्या
खोटाङ जिल्ला पछि पुमा राई भाषीहरूको धेरै संख्या भएको जिल्ला उदयपुर हो । यसका निम्न लिखित गा.वि.स.हरूमा बसोबास रहेको देखिन्छ ।
तालिका नं. ४
क्र.सं. | गाविस | जम्मा | पुरूष | महिला |
---|---|---|---|---|
1 | बसाहा | 114 | 51 | 63 |
2 | बेल्टार | 566 | 249 | 317 |
3 | चौदण्डी | 397 | 186 | 211 |
4 | हडिया | 45 | 17 | 28 |
5 | जोगीदह | 11 | 3 | 8 |
6 | कटारी | 15 | 7 | 8 |
7 | कटुन्जे बबला | 85 | 44 | 41 |
8 | सिद्धिपुर | 321 | 147 | 174 |
9 | ठोक्सिला | 40 | 22 | 18 |
10 | त्रियुगा नपा | 22 | 13 | 9 |
स्रोत: केन्द्रीय तथ्याङ्क विभाग ।
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका र अन्य ९ गा.वि.स.हरूमा पुमा मातृभाषीहरू रहेको देखिन्छ । जसमध्ये बेल्टार, सिद्धिपुर, चौदण्डी, बसाहा गा.वि.स.हरूमा १ सय भन्दा बढीको संख्यामा छन् भने अन्यमा अति न्युन देखिन्छ । चौदण्डी, सिद्धिपुर गा.वि.स.हरूमा पुस्तौंदेखि बसोबास गर्ने पुमा भाषाीहरू भए पनि बेल्टार, बसाहा, हडिया, जोगीदह, कटारी, त्रि.न.पा. आदिमा बसाईसराईबाटै आएका हुन् भन्ने यस लेखकलाई लागेको छ ।
दोश्रो भाषाको रुपमा पुमा राई भाषा बोल्नेहरूको संख्या
मातृभाषा वा पहिलो भाषा पछि आफ्नो नजिकको व्यक्ति, परिवार वा समाजले बोल्ने अर्को भाषालाई बोलिनुलाई दोश्रो भाषाको रुपमा लिइन्छ । पुमा भाषा पुमा राई समुदायकै मानिसहरूले मात्र दोश्रो भाषाको रुपमा बोल्छन् भन्ने हुँदैन । पुमा भाषालाई दोश्रो भाषाको रुपमा प्रयोग गर्नेहरूको क्षेत्रगत वा जिल्लागत तथ्यांक निम्न अनुसार रहेको छ ।
तालिका नं. ५
क्र.सं. | क्षेत्र/जिल्ला | जम्मा | पुरूष | महिला |
---|---|---|---|---|
1 | नेपालभर | 317 | 148 | 169 |
2 | सहरी | 55 | 23 | 32 |
3 | ग्रामीण | 262 | 125 | 137 |
4 | पहाड | 197 | 97 | 100 |
5 | तराई | 117 | 50 | 67 |
6 | पूर्वाञ्चल | 303 | 140 | 163 |
7 | मध्यमाञ्चल | 12 | 7 | 5 |
8 | खोटाङ | 159 | 79 | 80 |
9 | मोरङ | 58 | 25 | 33 |
10 | सुनसरी | 53 | 21 | 32 |
11 | उदयपुर | 26 | 12 | 14 |
स्रोत: केन्द्रीय तथ्याङ्क विभाग ।
तालिका नं. ५ अनुसार १४८ जना पुरुष र १६९ जना महिलाहरू गरी जम्मा ३१७ जनाले पुमा भाषालाई दोश्रो भाषाको रुपमा बोल्ने गरेको देखिन्छ । जिल्लागत रुपमा हेर्ने हो भने खोटाङ, मोरङ, सुनसरी र उदयपुर गरी ४ जिल्लाहरूमा मात्र पुमा भाषालाई दोश्रो भाषाको रुपमा बोल्ने गरेको देखिन्छ ।
नेपाल एक बहुभाषी, बहुसंस्कृति भएको देश हो । वि.सं. २०५८ को जनगणना अनुसार पुमा भाषीहरूको संख्या ४,३१० देखाईएको थियो । पछिल्लो जनगणना २०६८ अनुसार उनीहरूको संख्या ६,६८६ जना रहेको देखिन्छ । यसमा उनीहरूको संख्या करिब ५५ प्रतिशतले बढी देखिन्छ । यसो हुनुको पछाडि पुमा राईहरू मातृभाषाको कोलममा आफ्नै मातृभाषा लेखाएको भन्ने देखिन्छ । यसमा विभिन्न कारणहरू जस्तैं राजनीतिक, सामाजिक, सांस्कृतिक, भाषिक चेतना तथा शिक्षा क्षेत्रको विस्तार हो भन्ने बुझिन्छ ।
3 thoughts on “जनगणना २०६८ बमोजिम किरात पुमा राईहरूको जनसङ्ख्या स्थिति”
जवाफ लेख्नुहोस्
टिप्पणी गर्न तपाईँ लगइन हुनुपर्छ।
पुमा भाषा थप जान्ने र बुझ्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद ।
हाम्रो प्रकाशन अध्ययन गरिदिनु भएकोमा तपाईंलाई पनि मुरीमुरी धन्यवाद । प्रकाशन गर्नुपर्ने विषयवस्तुहरूका सम्बन्धमा सुझावको अपेक्षा गर्दछौं।
Thank you for your warm remarks.