• गणेश पुमा चिन्तन
दिनहरू बित्दै जान्छन्, रातहरू पनि
दिन आउँछ अनि जान्छ,
त्यस्तै रात पनि आउँछ र जान्छ
तर म भने जहाँको त्यही छु
जहाँ उभिएको छु म त्यही स्थिर छु
जन्मिएँ, हुर्किएँ परिवार, साथीसँगी र समाजसँगै
जुन परिवार, परिवेश र समाजले
मलाई हुर्कायो, बढायो र संसार चिनायो
त्यही समाजलाई मैले के दिएँ ?
यो समाजको उन्नतिको लागि मैले के गरेँ ?
विकासको लागि मैले के पहल गरेँ ?
यिनै प्रश्नहरू म सामु तेर्सिन्छन्
र खोज्छन् चित्त बुझ्दो उत्तर
म अनुत्तरित हुन्छु
किनकि मसँग त्यसको भरपर्दो उत्तर छैन
मेरै प्रश्नहरूको उत्तर म आफैँ दिन सक्दिन
तर सोच मग्न छु, सोचिरहेको छु
आफू जन्मे हुर्केको गाउँठाउँको लागि
केही त गरेर मर्नुपर्छ
केही छोडेर त जानुपर्छ भावी पुस्ताको लागि
यस्तै यस्तै प्रश्नले घेरिरहन्छन् मलाई
म शून्यतामा टोलाइरहन्छु
केवल दोबाटोमा अल्मलिएको बटुवा जस्तै … ।
*   *   *

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ