- बिनोद पुमा राई ।
वि.सं. २०६८ को जनगणनाको तथ्याङ्कअनुसार पुमाहरूको कुल जनसङ्ख्या ६,६८६ रहेको पाइन्छ । अबको जनगणना २०७८ मा धेरै हुनेछ भन्ने आशा छ । पहिलाको जनगणनामा पुमा राई नलेखेर राई अथवा पाछाहरू मात्र लेखेर थोरै जनसङ्ख्या देखिएको हुनसक्छ । अर्को कुरा १० बर्ष भित्र केही न केही बढेको पनि हुन्छ। अबको जनगणनामा नभुल्नु पर्ने कुरा पुमा राई जसरी पनि लेख्नु पर्दछ भन्ने लाग्छ । पुमा एउटा राई भित्रको भाषिक थरी हो र यो हाम्रो पहिचान पनि हो ।
हामी किरात पुमा राईहरू कहाँ के पेशामा छौं ? या कुन क्षेत्रसँग सम्बन्धित छौं ? र कुन स्तरको दर्जामा कार्यरत छौं- कार्यकारी पदहरूमा छौं या त सामान्य ? शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, विदेशी सेना तथा प्रहरी, नर्स, डाक्टर, ईन्जिनियर, पाइलट, व्यवसाय, राजनीतिज्ञ, वकिल, अधिकृत, कलाकार, किसान, कृषि, मुन्दुमी धामीहरूलगायत अन्य सबै क्षेत्रमा रहेको सबैको तथ्याङ्क संकलन गर्न आवश्यक छ ।
विदेशमा रहेकाहरूको लागि जुनजुन देशमा संस्थाहरू गठन भएको छ । त्यो देशको कार्यसमितिसंग सम्पर्क गरेर त्यहाँको सबै तथ्यांक माग्ने अनि जुन देशमा संस्था गठन गरेको छैन त्यो देशको कुनै एक व्याक्तिसंग सम्पर्क गरेर माग्नु पर्ने हुन्छ । यसो गर्दा हाम्रो जनसंख्या लगभग सही संकलन हुन्छ र हाम्रो पुमा राईहरू कुनकुन ठाउँमा बसोबास गर्दा रहेछन् कुन देशमा कति रहेछ्न् के गर्दैछन भन्ने सबै अवस्था थाहा हुनेछ |
यसको अलावा यो हाम्रो लागि महत्वपूर्ण दस्तावेज हुन जान्छ र पुमा राईहरूले कस्तो मार्गचित्र बनाउने भन्ने योजना बनाउन सहज हुन्छ । यसका साथै आउँदा पुस्ताहरूले उनीहरूको पृष्ठभूमि थाहा पाई उपयुक्त मार्गचित्र बनाई अग्रगामी कदम चाल्न सहज बनाउनेछ । यसलाई हाम्रो अर्धवार्षिक पत्रिका बुङवाफोपमार्फत प्रकाशन गर्नुपर्दछ ।र यो तथ्याङ्क हरेक बर्ष अद्यावधिक गर्दै लानुपर्छ । यसो गर्दा बुङवाफोप समेत एउटा महत्वपूर्ण दस्ताबेजको रूपमा परिणत भई यसकै महत्वमा उच्चता आउनेछ ।
जनसङ्ख्याको जानकारी मात्र नभएर किरात पुमा राई परिवारको समग्र तथ्याङ्क संकलन पनि हुनेछ । यसले पुमा राई समुदायका हरेक परिवार र व्यक्तिबीच निकटता ल्याउनेछ । त्यसकारण किरात पुमा राईहरूको तथ्याङ्क संकलन गर्नु जरूरी छ | किरात पुमा राईहरूको मातृसंस्था किरात पुमा राई तुप्खाबाङ्खालाद्वारा https://pumarai.org वेबसाइई सञ्चालन गरिरहेको सर्वविदितै छ । यस वेबसाइटले अनलाइनमार्फत् सम्पूर्ण पुमा राईहरूको तथ्याङ्क सङ्कलन गर्नका लागि अनलाइन तथ्याङ्क सङ्कलन फाराम निर्माण गरिसकेको तथ्य बुझिएको छ । धेरै जसो पुमा राईहरू डिजिटल प्रणालीमा जोडिएको अवस्था भएकोले सोमार्फत पनि तथ्याङ्क सङ्कलन गर्न सकिने देखिन्छ । यसका लागि किरात पुमा राई तुप्खाबाङ्खालाले तदारुकताका साथ निर्णय गरी सो अनलाइन तथ्याङ्क सङ्कलन फाराम लाइभ गर्नुपर्ने देखिन्छ ।
अन्तमा, सबै पुमा समुदाय सामाजिक सन्जालमा जोडिएर एकीकृत हुन आवश्यकता छ । वर्तमान अवस्थामा समाचारलगायत विश्वका दैनिक गतिविधिहरू सजिलो र छिटो थाहा पाउने माध्यम नै सामाजिक सन्जाल हो । हामी पुमाहरूको दैनिक गतिविधि तथा महत्वपूर्ण क्रियाकलापहरू एकआपसमा शेयर गर्नु पुमा समुदायको एकताको लागि समेत अति आवश्यक छ । त्यसैले पुमा राईहरूको आधिकारिक वेबसाइटद्वारा सञ्चालित pumarai.org Official Group सर्च गरेर यो ग्रुपमा सबै पुमा समुदाय जोडिएर अग्रगामी कदम बढाउने समय आइसकेको छ।