सबै भाषी विद्यार्थीले चाम्लिङ भाषाकै कोर्ष अध्ययन गरिरहेको

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा चाम्लिङ भाषामा पठनपाठन हुने भएको छ । लफ्याङका एउटा माविसहित ४ वटा विद्यालयमा चाम्लिङ भाषामा पठनपाठन हुने भएको हो ।

चाम्लिङ् राई भाषीको बाहुल्य रहेको लफ्याङमा ऐच्छिक विषयका रुपमा एउटा विषय चाम्लिङ भाषाबाट पठनपाठन गर्ने निर्णय गरिएको वडा शिक्षा समितिका संयोजक तथा वडाध्यक्ष निर्मल राईले बताए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४, मातृभाषा शिक्षासम्बन्धी नियम, कानून र व्यवस्थाअनुसार वडाका विद्यालयमा चाम्लिङ भाषाको पठनपाठन गर्न लागिएको अध्यक्ष राईले सुनाए ।

चालु शैक्षिक सत्रबाट कक्षा १ देखि ऐच्छिक विषयका रूपमा चाम्लिङ भाषामा पठनपाठन गर्ने तयारी गरिएको तर कोरोनाले कक्षा सञ्चालन गर्न नसकिएको अध्यक्ष राईले बताए । शिक्षक छनौट र पाठ्‌यपुस्तक भने व्यवस्थापन भइसकेको अध्यक्ष राईले जनाए । किरात राई चाम्लिङ खाम्बातिम र किरात राई यायोक्खाले प्रकाशन गरेको पाठ्‍यपुस्तकलाई उपयोग गर्ने अध्यक्ष राईले सुनाए । उक्त भाषा पठनपाठनका लागि सम्बन्धित विद्यालयमा कार्यरत चाम्लिङ भाषी शिक्षकलाई छनौट गरिएको राईले बताए । राईकाअनुसार श्रीमावि मझुवा बास्बोटे मावि, बालविकास प्रावि बरडाडा, सालतीदेवी प्रावि खर्कडाडा, सारदा प्रावि दोरुङ, जनचेतना आधारभूत विद्यालय दोखुमका गरी करिब ६० बालबालिकाले चाम्लिङ भाषा पढ्ने छन् ।

चाम्लिङ राईको बाहुल्य रहेको हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका सात विद्यालयमा २०६५ सालदेखि एक विषय चाम्लिङ राई भाषामा पठनपाठन हुँदै आएको छ । धितुङमा बुलापन्थे माविमा कक्षा ५ सम्म, सूर्यज्योति माविमा कक्षा ५ सम्म, सर्वावती प्राविमा कक्षा ५ सम्म र पारुहाङशरण प्राविमा कक्षा ३ सम्म एक विषय चाम्लिङ भाषामा पठनपाठन हुँदै आएको छ । सर्वावती प्राविमा चाम्लिङ भाषीले मात्र नभएर सबै जातजातिका विद्यार्थीले चाम्लिङ भाषाकै कोर्ष अध्ययन गरिरहेको बुलापन्थे माविका शिक्षक रकम रोदुङले बताए । चाम्लिङ राई भाषाको पठनपाठनका लागि हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्ष २ लाख बजेट विनियोजन गरेको छ ।

[नमस्ते खोटाङ डटकमबाट साभार]

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ