- पुनम पुमा ‘सम्पूर्ण’
मदानीले घुमाएका दही जस्तै
छप्ल्याङ्-छप्ल्याङ् मन्द गतिमा बढ्दै
संगीतका मर्मस्पर्शी धुनहरू सिर्जना गर्दै
हेलिएर डुङ्गा ठाक्किममा ठोक्काउदै
सदाबहार बग्ने तिमी दुधकोशी
फेदीबगर, छुइला उकाली-ओराली गर्ने
सुँघाचरीको शितल चौतारीमा थकान मेट्ने
एक पाथी नुनको खातिर
हिउद र वर्षा केही नभनी
ढाकर, टोक्माको सहारा लिएर
वारपार तिमीलाई गर्ने म
एउटा दु:खी ढाक्रे
तिम्रा सुसाइका भावहरू
कहाँ बुझ्न सक्छु र म ! (१)
साङ्गेले कोशी रोएको सुनेर
अनिष्ट भनी मनमनै सम्झ्यो
घुम्तीमा माझी बल्छी थापेर
पसिना पुछ्दै डुङ्गामा बस्यो
त्यही रात सावाको सिम्मा
असह्य पीडा दाँतको लिएर
डुबुल्की मारिन् यही कोशीमा
जीवनले शान्ति पाओस् भनेर
पुनर्जीवन दिइन् दुधकोशीले
सत्यवती चेली सम्झेर
डुलिरहन्छिन् अझै पनि गोज बनेर !! (२)
तपस्या गर्ने ऋषिले
कुदृष्टि राख्यो कन्यामा
पिपासु ऋषिको चर्तिकलाले
डम्म ढाक्यो कुहिरोले
चतरादेखि कम्फुघाटसम्म
कारुणिक दृश्य देखेको दुधकोशी
वर्षौंदेखि रोइरहेको छ
दुर्दशा हेर्न नसकी
पञ्चकन्या पोखरी
लुप्त बनिसकेको छ
बटुवालाई आड दिने ढुङ्गे बगर
अस्थिपञ्जर बनेको छ
अनेकौ कथा, व्यथा बोकेको दुधकोशी
निश्चल बनी बगिरहेको छ
लाखौं कहानी बोक्दै दुधकोशी
सुसेली हाल्दै बगिरहेको छ
निरन्तर बगिरहेको छ !! (३)
जन्तेढुङ्गा-६, निगालबास, खोटाङ