– गणेश पुमा चिन्तन
जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दल दर्ताको लहर उर्लेको देखिन्छ। दैनिक दर्जनौजसो समूह दल दर्ताका लागि सोधपुछ गर्न निर्वाचन आयोग पुग्दछन्। नागरिकमा राजनीतिक चेतना अभिवृद्धि भएको हो कि भन्ने भान पनि हुन्छ। तर, राजनीतिक मौसम आफूहरूको अनुकुल देखिएको बखत दल दर्ता गरेर त्यसको लाभ प्राप्त गर्ने चाहना हो जस्तो पनि देखिन्छ। स्थानीयस्तरमा रहेका विभिन्न संघसंस्थाहरू समेत आफ्नो संगठनलाई दलको औपचारिकता दिलाउन दल दर्ताको लागि निर्वाचन आयोग पुगेका देखिँदा यो तथ्यलाई पुष्टि गर्न बल पुग्दछ।
नेपालको संविधानको धारा 17 को उपधारा (2) को खण्ड (ग) मा प्रत्येक नागरिकलाई राजनीतिक दल खोल्ने स्वतन्त्रता हुने कुरा उल्लेख छ। त्यस्तै, भाग २९, धारा 269 देखि 272 सम्म राजनीतिक दल सम्बन्धी व्यवस्था छ। यस भागमा दलको गठन, दर्ता र सञ्चालन सम्बन्धी व्यवस्था गरिएको छ। त्यसैगरी, राजनीतिक दल सम्बन्धी ऐन, 2073 तथा नियमावली, 2074 ले दलको गठन, दर्ता र सञ्चालन सम्बन्धी व्यवस्थालाई स्पष्ट पारेको छ। यिनै संवैधानिक तथा कानूनी व्यवस्थाको परिधिभित्र रहेर नेपालमा राजनीतिक दलले औपचारिकता प्राप्त गर्न निर्वाचन आयोगमा दल दर्ता गर्नु पर्दछ भन्ने कानूनी व्यवस्था छ। राजनीतिक दल सम्बन्धी विषयमा चर्चा गर्दा दल दर्ता विधि र प्रक्रियाका बारे समेत जानकारी राख्न आवश्यक हुन्छ।
राजनीतिक दल दर्ता विधि र प्रक्रिया
राजनीतिक दल दर्ताका लागि नेपालको संविधानको धारा २६९ को उपधारा (1) मा, ‘समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिवद्ध व्यक्तिहरूले धारा 17 को उपधारा (2) को खण्ड (ग) अन्तर्गत बनेको कानूनको अधीनमा रही राजनीतिक दल गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रम प्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचार र प्रसार गर्न, गराउन वा सो प्रयोजनका लागि अन्य आवश्यक काम गर्न सक्नेछन्‘, भनी उल्लेख छ। यसरी नयाँ राजनीतिक दल दर्ता गर्न चाहनेले यिनै मौजुदा कानूनहरूको अधीनमा रही दल दर्ता गर्नु पर्दछ। यसका लागि समान विचार भएका मानिसहरूले निर्वाचन आयोगमा दल दर्ता गर्ने उद्देश्यले एउटा भेला बोलाउनु पर्दछ। भेलाबाट निर्वाचन आयोगमा दल दर्ता गर्ने सम्बन्धमा छलफल गरी दलको नाम, निर्वाचन चिन्ह, झण्डा आदि बारे निर्णय गर्नु पर्दछ। त्यसपछि दलको तर्फबाट निर्वाचन आयोगमा उपस्थित भइ दल दर्ता गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न गराउन एकजना पदाधिकारीलाई अधिकार दिनु पर्दछ। सो सम्बन्धी फारम राजनीतिक दल सम्बन्धी नियमावली, 2074 को अनुसूची-1 बमोजिमको हुनु पर्दछ। समूहले बैठक एक वा सो भन्दा बढी पटक पनि बस्न सक्नेछ। बैठकका निर्णयहरू अभिलेखवद्ध गरी अधिकार प्राप्त पदाधिकारी निर्वाचन आयोगमा उपस्थित भइ राजनीतिक दल दर्ता सम्बन्धी कार्य गर्नु पर्दछ।
राजनीतिक दल सम्बन्धी नियमावली, 2074 को नियम 3 को उपनियम (2) बमोजिम पाँच सय जना नेपाली मतदाताले हस्ताक्षर गरेको अनुसूची-3 बमोजिमको प्रतिवद्धतापत्र तथा उदघोषणा पत्र समेत संलग्न गर्नु पर्दछ। खाका अनुसारको मतदाताको नाम, ठेगाना, मतदाता नम्बर, नागरिकता नम्बर, बाबुआमा, पति पत्नी आदि सहितको विवरण तयार गरी सम्बन्धित मतदाताहरूलाई दस्तखत गराउनु पर्दछ। यसै विवरणमा राखिएको क्रम मिल्ने गरी मतदाता परिचय पत्रको प्रतिलिपि वा नम्बर र नागरिकताको प्रतिलिपि अनुसूची-3 सँगै राख्नु पर्दछ। यो विवरणलाई एक्सल सिटमा समेत सूचीवद्ध गरी निर्वाचन आयोगमा पेस गर्नु पर्दछ। यो सूची निर्वाचन आयोगले मतदाताको सम्बन्धित प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा पठाइ सनाखत कार्यको लागि व्यवस्था गर्दछ।
नेपालको संविधानको धारा 269 बमोजिम दर्ता हुने राजनीतिक दलले राजनीतिक दल सम्बन्धी नियमावली, 2074 को नियम 3 को उपनियम (1) सँग सम्बन्धित अनुसूची-2 बमोजिमको खाकामा निवेदन पेस गर्नु पर्दछ। यस अनुसूचीमा दलको नाम (पुरा र संक्षिप्त), गठन मिति, दल दर्ता गर्ने गरी केन्द्रीय समितिबाट भएको निर्णय र मिति, ठेगाना (केन्द्र, प्रदेश र इमेल), केन्द्रीय समितिको पदाधिकारी र सदस्यहरूको विवरण, विधान, नियमावली, घोषणापत्र, निर्वाचन चिन्ह, झण्डा, आदि खुल्नु पर्दछ।
राजनीतिक दल दर्ताको लागि पेस भएको निवेदन निर्वाचन आयोगले अध्ययन गर्दछ। कागजात अपुग भएको अवस्थामा थप कागजात पेस गर्न, विधानमा उल्लेख भएका विषयवस्तुहरू नेपालको संविधान र प्रचलित कानूनसँग बाझिने भएको अवस्थामा सो परिमार्जन गर्न र अस्पष्ट कुराहरूलाई स्पष्ट पार्न आयोगले सम्बन्धित दललाई कागजात दुरुस्त बनाइ पेस गर्न पत्राचार गर्छ। सो बमोजिम कागजात तथा विवरण प्रस्तावित दलले दुरुस्त बनाइ आयोगमा पुन: पेस गरेपछि दर्ता कार्य अगाडि बढ्छ।
नियमावलीको अनुसूची-3 बमोजिमको 5 सय जना भन्दा बढी समर्थकको विवरण एक्सल सिटमा समेत तयार गरी आयोगमा पेस गर्नु पर्छ। सो विवरणलाई आवश्यक जाँचबुझ गरी ती मतदाताहरू जुन जिल्लाका स्थायी मतदाता हुन्, तिनै प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा सनाखतका लागि पठाउनु पर्ने हुन्छ। त्यसपछि ती मतदाता सम्बन्धित प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा आफ्नो सक्कल नागरिकता र मतदाता नामावली नम्बर सहित सशरीर उपस्थित भइ आयोगले तोकेको ढाँचामा सनाखत गर्नु पर्दछ। त्यसरी प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा भएका सनाखत विवरण निर्वाचन आयोगमा फिर्ता पठाउनु पर्दछ।
दल दर्ताका लागि कम्तिमा २१ सदस्यीय केन्द्रीय समिति गठन गर्नु पर्दछ। यस समितिमा कम्तिमा ३३ प्रतिशत महिला अनिवार्य छ। यी बाहेक अन्य समावेशी समूहका सम्बन्धमा मौजुदा कानूनमा कुनै व्यवस्था छैन। कम्तिमा ५ सय समर्थकहरूको सनाखत प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा गरे जस्तै केन्द्रीय समितिको भने निर्वाचन आयोगमा नै सनाखत गर्नु पर्दछ। केन्द्रीय समितिको सनाखत तोकिएको एकै दिन निर्वाचन आयोगमा सम्बन्धित पदाधिकारी वा सदस्य स्वयम् सशरीर उपस्थित भइ गर्नु पर्दछ। सम्पूर्ण कागजात प्राप्त भइ जाँचबुझ गरी दल दर्ता गर्न उपयुक्त ठानेपछि दल दर्ताको निर्णय आयोगबाट हुन्छ। त्यसपछि आयोगले सम्बन्धित दललाई राजनीतिक दल दर्ता भएको प्रमाणपत्र उपलब्ध गराउछ। यसरी आजको मितिमा निर्वाचन आयोगमा १२४ वटा दलहरूको दर्ता कायम रहेको अभिलेखबाट देखिन्छ।
राजनीतिक दल दर्ता हुन नसक्ने अवस्थाहरू पनि रहन्छन्। जस्तो, नेपालको संविधानको धारा २६९ बमोजिम दल दर्ताका लागि आवश्यक कार्यविधि पूरा गर्न असमर्थ भएको अवस्थामा दल दर्ता हुन सक्दैन। त्यस्तै, प्रस्तावित दलको विधान नेपालको संविधान तथा मौजुदा कानूनसँग बाझिएको अवस्थामा समेत दल दर्ता हुन सक्दैन।
राजनीतिक दल एकपटक निर्वाचन आयोगमा दर्ता भइसकेपछि हरेक वर्ष नवीकरण गरिरहनु पर्दैन। बरू राजनीतिक दलले हरेक आर्थिक वर्ष सुरु भएको ६ महिना भित्र लेखापरीक्षण गरी गराइ ७ महिना भित्र निर्वाचन आयोगमा पेस गर्नु पर्दछ। यसरी हेर्दा लेखापरीक्षण प्रतिवेदन पेस गर्नु नै दल नवीकरण गर्नु हो जस्तो देखिन्छ। यद्यपि राजनीतिक दल नवीकरण गरिरहनु पर्दैन।
जेनजीको आधिकारिक पार्टी दर्तामा ढिलाइ किन?
जेनजी पुस्ताको एउटा छुट्टै दल दर्ता गरी निर्वाचनमा होमिने कुरा आएको धेरै समय भयो। तर जेनजीहरूका लागि दल दर्ताका माथि उल्लिखित प्रावधानहरू समेत अप्ठ्याराका रूपमा रहेका देखिन्छन्। नेपालको संविधानको धारा २६९ मा ‘समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिवद्ध व्यक्तिहरू …‘ भन्ने कुरा उल्लेख छ। जेनजीहरूमा यो तथ्य पनि खस्किएको देखिन्छ। आन्दोलनका सुरुवाती दिनहरूमा नै जेनजीहरू एउटै समूहमा र एक आधिकारिक नेतृत्वको छातामूनि नरहेको देखियो। यसरी जेनजी भित्र एकता नभएका कारणबाट पनि जेनजी एक भइ जेनजी पुस्ताका लागि एउटा फरक दल दर्ता गर्न कठिनाइ भइरहेको बुझिन्छ। राजनीतिक दल दर्ताका लागि आवश्यक कार्यविधि र कागजात निर्माण गर्न सामूहिक प्रयासबाट मात्र सम्भव हुन्छ। तर जेनजी समूहमा सामूहिकता देखिदैन। यो नै उनीहरूको ठूलो कमजोरी हो। राजनीतिक दलको विधानको ढाँचामा एकरूपता ल्याउन विधानको नमूना निर्वाचन आयोगले आफ्नो वेबसाइटमा राखिदिएको छ। त्यसमा सम्बन्धित दलले आफ्नो दलका लागि आवश्यक कुराहरू सम्पादन गरे मात्र पनि विधान तयार हुन्छ। नियमावली र घोषणापत्र त्यसकै आधारमा तयार गर्नु पर्ने हुन्छ। तर यी कागजात निर्माण गरी अन्तिम रूप दिन समेत जेनजी समूहहरूलाई समय लाग्छ। जबकी दल दर्ता प्रक्रिया आजको भोलि पुरा हुन सक्दैन।
यसरी जेनजी पुस्ताले औपचारिक र आधिकारिक नेतृत्व निर्माण गर्न नसकेकोबाट के कुरा स्पष्ट देखिन्छ भने जेनजी पुस्ताभित्र विश्वासको कमी छ। एकले अर्कोलाई विश्वासमा लिन नसकेको अवस्था देखिन्छ। विश्वास आजको भोलि आर्जन गर्न सक्ने कुरा पनि होइन। वर्षौँदेखि राजनीतिक दलहरूले नेपाली समाजमा जीवन यापन गरेका हरेक व्यक्तिको मन मुटुमा बनाएको राजनीतिक दलको चित्र नै आज जेनजीको दल दर्ताको लागि तगारो बनेको देखिन्छ। राजनीतिक दलहरूले एउटा भन्ने अनि अर्को गर्ने प्रवृत्ति समाजमा व्याप्त छ। जसका कारण आजको जेनजी पुस्तामा एकता हुन नदिइरहेको अवस्था छ। राजनीतिक दलको नेतृत्व पङ्तिको व्यवहारमा लोकतान्त्रिक, समावेशी र समानुपातिक विचारसहितको स्पष्ट खाका देखिदैन। बरू निरङ्कुस, असमावेशी र एकात्मक प्रवृत्ति छरपस्ट देखिन्छ।
जेनजी पुस्ता, जुन पुस्ताले हिजोका दिनमा आन्दोलनको आधिकारिक र औपचारिक घोषणा गर्यो, त्यही पुस्ता आजको अन्तरिम सरकार निर्माणमा बाहिर देखिन्छ। यो नै जेनजी आन्दोलनको दुर्भाग्य हो। जुन सरकार जेनजी पुस्ताको समर्थनमा बनेको भनियो, त्यही सरकार जेनजीको इच्छा, चाहना र मार्गचित्र बमोजिम चल्न नसकेको देखिन्छ। ‘फुटाउ अनि राज गर‘ भने जस्तो जेनजी पुस्तालाई एकीकृत हुन नदिन यहाँ धेरै चलखेल भएका छन्। ती चलखेलबाट जोगिन यो पुस्तालाई सहज छैन। जेनजी पुस्तालाई समेटेर दलले आफ्नो भातृ समूह बनाइ सकेको खवरहरू आएका छन्। यसले स्वयम जेनजीको दल दर्ताका लागि असहज मात्र होइन दल दर्ता गरेर पनि प्रभावकारी रूपमा सञ्चालन गर्न समेत कठिन परिस्थिति सिर्जना गर्दछ।
नेपाल सरकारले आगामी फागुन 21 गतेका दिन प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मिति तय गरेको छ। यस निर्वाचनमा भाग लिनका लागि यही कात्तिक ३० गतेसम्म दलले दल दर्ताको प्रमाणपत्र प्राप्त गरिसक्नु पर्ने सूचना आयोगले जारी गरिसकेको छ। यस परिप्रेक्ष्यमा निर्वाचन आयोगमा दल दर्ताका थुप्रै निवेदनहरू दर्ता भइसकेका छन्। जेनजीको एउटा समूहले जेनजी नाम लिएर दल दर्ताको लागि निवेदन दिएको अवस्था पनि छ। यद्यपि सो समूहले दलको विधानलगायतका आवश्यक कागजात पेस गर्न सकेको देखिदैन। आवश्यक कागजात अपुग भएका कारण यस दलको दल दर्ता प्रक्रिया अघि बढ्न सकेको देखिदैन।
जेनजी आन्दोलनको छेक पारेर विभिन्न सांगठनिक समूहहरू समेत निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन पेस गर्न आइपुग्न थालेका छन्। दल दर्ताका लागि आयोगमा दर्ता भएका निवेदनहरूको अवस्था बुझ्न विगत करिब १८ महिनाको ग्राफ हेरौँ-

ग्राफमा २०८१ वैशाखदेखि २०८२ कात्तिक ११ गतेसम्म निर्वाचन आयोगमा दल दर्ताका लागि दर्ता भएका निवेदनहरूको सङ्ख्याको आधारमा तयार गरिएको छ। यसले दल दर्ताका लागि पेस भएका निवेदनहरूको उतारचढाव स्पष्ट पार्दछ। २०८१ वैशाखदेखि २०८२ साउन मसान्तसम्म आइपुग्दा दल दर्ताको निवेदनमा आधा घटेको देखिन्छ भने २०८२ साउन मसान्तदेखि कात्तिक ११ गतेसम्म आइपुग्दा छ गुणा वृद्धी भएको देखिन्छ। यो सङ्ख्या दल दर्ताको विधि र प्रक्रिया बुझ्न निर्वाचन आयोग पुग्ने सङ्ख्या भन्दा धेरै गुणा कम हो। अर्थात् विधि र प्रक्रिया बुझ्न आउने सबैको दल दर्ता निवेदन पेस हुँदा यो सङ्ख्या निकै माथि पुग्ने देखिन्छ। यस्तो दल दर्ताको लागि उर्बर देखिएको समयमा समेत जेनजी पुस्ताले आफ्नो आधिकारिक राजनीतिक दल दर्ताका लागि निवेदन पेस गर्न सकिरहेको अवस्था छैन।
जेनजीको अबको बाटो
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले जेनजी पुस्तामा राजनीतिक चेतना अभिवृद्धी भएको सामान्यतया देखिन्छ नै। नवयुवा वर्गमा राजनीतिक चेतना अभिवृद्धी भइ मुलुकलाई अग्रगामी दिशातर्फ मार्गदर्शन गर्नु राम्रो मात्र होइन आवश्यक समेत छ। जेनजी आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै मुलुकलाई अग्रगामी निकास दिन जेनजी पुस्ताको बेग्लै राजनीतिक दल गठन गर्दा जेनजी पुस्ताका युवाहरूलाई एकाकार गर्न सहज हुन्छ। यद्यपि जेनजी पुस्ताका युवाहरूको पूर्ववत राजनीतिक दल छ। उनीहरू कुनै न कुनै राजनीतिक दलमा आवद्ध देखिन्छन्। यसो हुँदा अब बन्ने जेनजीको आफ्नै राजनीतिक दलमा आवद्ध हुन जेनजीका विभिन्न समूहहरू बीच विश्वासको वातावरण बन्न जरुरी छ। यसका लागि जेनजीका विभिन्न समूहहरू बीच बृहत बैठक आयोजना गरी तार्किक निष्कर्षमा पुग्न अति आवश्यक छ। आन्दोलनको २ महिना बित्न लाग्दा समेत आफूहरूको आधिकारिक नेतृत्व कोही छैन भनेर हरेक कार्यक्रमहरूमा आफ्ना धारणा दिइरहँदा त्यसले समेत जेनजी आफैँलाई कमजोर बनाएको र देखाएको पाइन्छ।
राजनीतिक सङ्क्रमणको बखत विविध तत्वहरूले आआफ्नै तवरले खेल्ने मौका खोजिरहेका हुन्छन्। तिनलाई परास्त गर्दै आफ्ना उपलब्धीहरूलाई संस्थागत गर्न जेनजी एक भइ निर्वाचनको तयारीमा लाग्न जरुरी छ। प्रतिनिधिसभामा आफ्नो प्रतिनिधित्व गराएर संविधानको अग्रगामी संशोधनमा उल्लेख्य भूमिका निर्वाह गर्दै देशको राजनीतिक, संवैधानिक तथा कानूनी प्रणालीमा सुधार ल्याउन जेनजीले राजनीतिक दलमा एकताबद्ध भइ अगाडि बढ्न अनिवार्य जस्तै देखिन्छ। अन्यथा अति निकट भविष्यमै जेनजीले आफ्नो पहिचान, आशा, उपलब्धी मात्रै गुमाउदैन, उनीहरूको राजनीतिक भविष्य र करियरमा समेत अकल्पनीय घात व्यहोर्नु पर्ने अवस्था सिर्जना हुन सक्छ।
बुढानीलकण्ठ, काठमाडौं।
ganeshchintan@gmail.com

