पुमा भाषा भोट-बर्मेली भाषा परिवारअन्तर्गतको नेपालको एक राष्ट्रिय भाषा हो ।  यस भाषाको शब्द लेखन तथा वाक्य निर्माणसम्बन्धी पृथक व्याकरण छ ।  पुमा भाषीको बाहुल्यता रहेका स्थानहरूका विद्यालयहरूमा यस शैक्षिकसत्रबाट पुमा भाषाको पठनपाठन गर्ने गराउने पुमा राईको मातृसंस्था किरात पुमा राई तुप्खाबाङ्‌खालाको योजना रहेको छ ।  सोका लागि संस्था तथा जन्तेढुङ्‌गा गाउँपालिकाको सहकार्यमा  कक्षा १ देखि कक्षा ५ सम्मको पाठ्‍यक्रम, कक्षा १ को पाठ्‍यपुस्तक तथा सन्दर्भ सामग्रीको रुपमा आधारभूत पुमा शब्दकोशको प्रकाशन भइसकेको छ ।

पुमा भाषामा प्रयोग हुने वर्णहरू देहायबमोजिम रहेका छन् –
(क) स्वरवर्णहरू – अ, आ, इ, उ, ए, ओ ।
(ख) व्यञ्जन वर्णहरू –

क्          ख्           ग्           घ्           ङ्
च्           छ्           ज्          झ्
ट्           ठ्           ड्           ढ्
त्           थ्           द्           ध्           न्
प्           फ्          ब्           भ्           म्
य्           र्           ल्           व्
स्          ह्          ʔ            न्ह्          म्ह्          र्‍ह्

पुमा शब्द तथा वाक्य लेखनसम्बन्धी स्थापित मान्यता निम्नबमोजिम रहेको छ-

१. पुमा भाषाको उच्चारणमा दीर्घ स्वर छैन । त्यसैले सबै मात्रा ह्रस्व लेखिन्छ । इकार भन्दा अघि आधा अक्षर (वर्ण) उच्चारण भएमा सो अक्षर पूरा लेखी खुट्टा काट्ने गरिन्छ, (जस्तै: खिप्‌दि)।

२. य (वर्ण) भन्दा अघि आधा अक्षर (वर्ण) उच्चारण भएमा सो अक्षर पूरा लेखी खुट्टा काट्ने गरिन्छ, (जस्तै: बेन्‌याङ्) ।

३. मानिसको नामको अन्तिम अक्षर आधा उच्चारण भए पनि हलन्त राखिन्‍न, तर अन्य शब्दहरूको अन्त्यमा आधा अक्षर उच्चारण भए अन्तिम अक्षरमा हलन्त लेख्‍ने गरिन्छ, (जस्तै: बेन्‌) ।

४. कण्ठस्पर्शी (अल्पघोष) (ग्लोटल) वर्ण ʔ को उच्चारण जनाउन (ʔ) लेख्‍ने गरिन्छ, (जस्तैः माʔवा) ।

५. अनुसन्धानबाट प्राप्त निष्कर्षअनुसार नासिक्य अघोष प्राणत्व वर्णहरू ‘न्ह’, ‘म्ह’ र ‘र्‍ह’ आधा ‘न’ र ‘ह’, आधा ‘म’ र ‘ह’ वा आधा ‘र’ र ‘ह’ को संयुक्त वर्ण होइनन् । यी तीनै सग्ला वर्ण हुनाले सोही रूपमा प्रयोग गर्ने गरिन्छ ।

६. एन्चि/एन्च, केन्चि/केन्च, कचि/कच, केचिका/केचका, चाआनम्/चाआनुम्, पअङ्/पङ् जस्ता स्थानगत भेद देखिने सबै शब्दहरूमा एन्चि, केन्चि, कचि, चाआनुम्, मेन्चोक्दानुम्, पअङ्लाई औपचारिक रूपमा प्रयोग गर्ने गरिन्छ ।

७. दोकङ्/दोङ्कङ्/दोकोङ्/दोङ्‌कोङ् जस्ता शब्दहरूमा दोकङ्लाई औपचारिक रूपमा प्रयोग गर्ने गरिन्छ ।

८. नेपाली भाषाको “लागि र लाई” शब्द पुमा वाक्यमा आवश्यक हुँदैन। त्यसैले यी शब्दहरू औपचारिक रूपमा प्रयोग गरिदैनन् ।

९. पुमा भाषा लेखनलाई सहज र सरल बनाउन मिश्रित (संयुक्त) अक्षरहरूलाई समेत एकल (सामान्य) बनाएर लेख्‍ने गरिन्छ, (जस्तै: द्म को सट्टा द्‌म) ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ