नेपाल सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य हवाई उडान पुन: सञ्चालन गर्ने निर्णय गरेको एकजना मन्त्रीले बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले  भने, “भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानहरू खुल्छन्।”

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको उनले बताए। यसअघि मङ्गलवार राति १२ बजेसम्मका लागि आन्तरिक र बाह्य दुवै उडान स्थगित गरिएको थियो। त्यसलाई साउनभरि निरन्तरता दिइनेछ।

साउनभरि सीमा बन्द
अर्का एकजना मन्त्रीका अनुसार साउन अन्तिमसम्म अन्तर्राष्ट्रिय सीमालाई बन्द गर्ने निर्णय यथावत् रहेको छ। लकडाउनको अहिलेको ढाँचामा केही फेरबदल गर्ने छलफल बैठकमा भएको उनले बताए। त्यसबारे विस्तृत विवरण भने उनले दिएका छैनन्।

आइतवार बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकले यातायात, पर्यटन व्यवसाय, होटल, सङ्ग्राहलय, सभा-सम्मेलन, खेलकुद र विद्यालयलगायतमा पूर्व निर्णयमा हेरफेर गर्न प्रस्ताव गरेको थियो। नेपालमा गत चैत दोस्रो सातादेखि लकडाउन जारी छ। अहिलेको लकडाउनको अवधि मङ्गलवार राति १२ बजेदेखि सकिनेछ।

गत असार २५ गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले सर्तसहित सार्वजनिक यातायात सञ्चालनको अनुमति दिइने जनाएका थिए। त्यसअघि जेठ अन्तिम साता सरकारले कतिपय क्षेत्रहरूलाई सतर्कता अपनाएर खोल्ने निर्णय गरेको थियो । यो खबर बीबीसी डटकमबाट साभार गरिएको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ